पुस १३, ललितपुर । “ललितपुर साहित्य समाज’’ तदर्थ समितिको पहिलो बैठक सम्पन्न भएको छ । समाजका अध्यक्ष प्राध्यापक रामकुमार पाँडेको अध्यक्षतामा आज बसेको उक्त समितिको बैठकले गत मंसीर २९ गतेको “ललितपुरका साहित्यकारहरूको भेला” बाट पारित गरे अनुसार उक्त समितिमा ललितपुरका साहित्यिक संस्थाका केही प्रतिनिधहरूलाई कार्यकारी सदस्यमा मनोनित गरेको छ । जस अनुसार गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारी, लालित्य सिर्जना समाजका अध्यक्ष बुद्धिमान महर्जन, विश्व नेपाली साहित्य महासघं, ललितपुर शाखाकी अध्यक्ष नीता श्रेष्ठ तथा साहित्यकारहरू बाबुलाल स्याङताङ र पवित्र अधिकारी हुनुहुन्छ ।
आजको बैठकमा ललितपुरमा “ललितपुर बृहत् साहित्य सम्मेलन” गर्न र ललितपुर महानगरपालिकामा “ललित प्रज्ञाप्रतिष्ठान” गठन गर्ने गराउने सम्बन्धमा प्राध्यापक रामकुमार पाँडेले प्रस्तुत गर्नुभएको अवधारणा-पत्रमाथि छलफल गरी उक्त प्रस्तावलाई ललितपुर महानगरपालिकामा पेश गर्नको लागि पारित गरियो ।
यसका साथै यस “ललितपुर साहित्य समाज” ले ललितपुरका अन्य साहित्यिक संस्थाहरूको एउटा छाता संगठनको रूपमा रही ललितपुरको साहित्य, कला र संस्कृतिको विकास, संरक्षण र प्रबर्द्धन गर्दैजाने उद्देश्य लिएको छ ।
आजको बैठकमा सल्लाहकार प्राध्यापक यावप्रसाद ढुङ्गाना, उपाध्यक्ष भानुप्रकाश जोशी, कोषाध्यक्ष किशोर बज्राचार्य, सचिव दिव्य गिरी र सदस्यहरूमा जयदेव भट्टराई, शुषमा चित्रकार, गोपाल सञ्जेल, श्रीराम पौडेल, रामसुन्दर के.सी., राजेश्वरी राजोपाध्याय तथा नव कार्यकारी सदस्यहरू क्रमशः वशिष्ठ अधिकारी र पवित्र अधिकारीको उपस्थिति रहेको थियो ।