माघ १, मङ्गलबार । पद्मकन्या बहुमुखी क्याम्पस, बागबजारमा समालोचक धीरकुमार श्रेष्ठद्वारा लिखित समालोचना कृति ‘आख्यानको आँखीझ्याल’ र ‘अध्ययन विश्लेषण’ को सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । ऐरावती प्रकाशन प्रा.लि. को आयोजनामा भएको यो कार्यक्रममा रामदेव पाण्डेले सभाध्यक्षता गर्नुभएको थियो भने प्रा. डा. दयाराम श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथिहरू प्रा. डा.  कुमारप्रसाद कोइराला, प्रा. डा. रामप्रसाद ज्ञवाली, प्रा. डा. देवी नेपाल र प्रा. अनुपमा रेग्मीले उपस्थिति जनाउनुभएको थियो । ऐरावती प्रकाशन प्रा. लि. का अध्यक्ष रामदेव पाण्डेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रबन्ध निर्देशक आनन्द तिवारीले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले पुस्तक सार्वजनिक गर्नुभएको थियो । देबु लुइटेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रा. अनुपमा रेग्मी र प्रा. डा. रामप्रसाद ज्ञवालीबाट ‘अध्ययन विश्लेषण’ एवम् प्रा. डा. कुमारप्रसाद कोइराला र प्रा. डा. देवी नेपालबाट ‘आख्यानको आँखीझ्याल’उपर विद्वत् चर्चा प्रस्तुत गरियो । चर्चाका क्रममा समालोचक श्रेष्ठका साहित्यिक योगदानका साथै उनका उक्त समालोचनात्मक कृतिका सबल र दुर्बल पक्षका बारेमा चर्चाकारहरुबाट प्रकाश पार्ने कार्य भयो । कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. दयाराम श्रेष्ठले कृतिहरूको महत्त्व र समालोचनात्मक दृष्टिकोणमाथि प्रकाश पारी कमी कमजोरी औल्याउँदै मन्तव्य दिनुभएको थियो। धन्यवाद ज्ञापन लेखक धीरकुमार श्रेष्ठले गर्नुभएको थियो भने अन्त्यमा सभाध्यक्ष रामदेव पाण्डेले मन्तव्यसहित कार्यक्रम समापन गर्नुभएको थियो । यस कार्यक्रममा विभिन्न क्षेत्रका विद्वान, साहित्यकार र साहित्य प्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

Facebook Comments Box

Similar Posts