चैत्र २९, काठमाडौं । साहित्यिक पत्रकार सङ्घको आयोजनामा आज भएको एक भव्य कार्यक्रममा कवि एवम् कलाकार नरेन्द्रबहादुर श्रेष्ठ र उहाँकी धर्मपत्नी नीरू श्रेष्ठलाई हार्दिकअभिनन्दन गरियो । नेवारी परम्पराअनुसार जङ्कु हुन लागेको अवसर पारेर त्यसको पूर्वसन्ध्यामा आज उहाँहरूलाई अभिनन्दन गरिएको हो । अभिनन्दन गर्ने संस्थाहरूको सङ्ख्या ३८ थिए । सो अवसरमा प्रदान गरिएको अभिनन्दनपत्रको उचाइ अभिनन्दित व्यक्तित्व नरेन्द्रबहादुर श्रेष्ठकै उचाइ बराबर रहेको छ ।
कार्यक्रममा प्रमुख अतिथि पूर्व राजदूत केदारभक्त माथेमा र कार्यक्रम एवम् साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली लगायतले श्रेष्ठलाई अभिनन्दनपत्र हस्तान्तरण गर्नुभएको थियो ।
सोही कार्यक्रममा नरेन्द्रबहादुर श्रेष्ठबारे विभिन्न व्यक्तिहरूद्वारा लेखिएका आलेख र उहाँका विभिन्न व्यक्तित्वबारे जानकारी दिने अभिलेख समावेश गरिएको “नरेन्द्रबहादुर श्रेष्ठ : आलेख र अभिलेख” पुस्तकको लोकार्पण पनि भयो । सो ग्रन्थको प्रधान सम्पादक प्रमोद प्रधान र सम्पादकहरूमा श्रीओम श्रेष्ठ “रोदन”, विमल भौकाजी र मुरारी सिग्देल रहनुभएको छ । ग्रन्थमा ८० लेखकका रचना समावेश छन् ।
सो अवसरमा प्रमुख अतिथि पूर्व राजदूत केदारभक्त माथेमाले समाजलाई बाटो देखाउने सिर्जनशील व्यक्तिहरूको अभिनन्दन आफैमा महत्त्वपूर्ण कार्य भएको बताउनुभयो । उहाँले श्री श्रेष्ठलाई बधाई ज्ञापन गर्दै उहाँको सिर्जनशील जीवनको कामना गर्नुभयो । अभिनन्दित व्यक्तितब नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो साहित्यिक र कलायात्राको पृष्ठभूमि बताउँदै आजको दिन आफ्नो जीवनको अविस्मरणीय दिन भएको उल्लेख गर्नुभयो । उहाँले आफ्नो जीवनमा आमा र श्रीमती दुवैको महत्त्वपूर्ण योगदान भएको पनि बताउनुभयो ।
अध्यक्षको आसनबाट साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले श्री श्रेष्ठको व्यक्तित्व र योगदानबारे चर्चा गर्दै यो अभिनन्दन उहाँले समाज र देशलाई दिनुभएको योगदानको लागि भएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख वक्ताका रूपमा रहनुभएका वरिष्ठ समालोचक प्रमोद प्रधानले नेपाली कविता, कला, समाजसेवा र अध्यात्म यी चार क्षेत्रमा नरेन्द्रबहादुर श्रेष्ठको योगदान अविस्मरणीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँलाई नरेन्द्रबहादुर बनाउनमा उहाँकि आमा र धर्मपत्नीको योगदानलाई हामीले बिर्सन हुँदैन ।”
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष कुशकुमार जोशीले आफूले सानोमा नरेन्द्रबहादुर श्रेष्ठबाट कविता सुनेको स्मरण गर्दै आफूले उहाँबाट प्राप्त गरेको प्रेरणाको चर्चा गर्नुभयो । वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठले पनि अभिनन्दित व्यक्तित्वलाई शुभकामना दिनुभयो । कार्यक्रममा श्री श्रेष्ठका जेठो सुपुत्र निश्चलबहादुर श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलले अभिनन्दनपत्र पढेर सुनाउनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि र प्रमुख वक्तासहित सहभागी संस्थाहरू र लेखकहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।चैत १६, काठमाडौँ । सुरभि साहित्य प्रतिष्ठानको नियमित आख्यानवाचनको १७१ औँ शृङ्खला सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा सम्पन्न यस कार्यक्रममा वरिष्ठ बालसाहित्यकार गङ्गा पौडेल कर्माचार्यको प्रमुख आतिथ्य रहेको थियो । अन्य अतिथिहरूमा कथाकार दिवाकर न्यौपाने, पत्रकार विनोद दाहाल वत्स र केशव भण्डारी हुनुहुन्थ्यो । प्रतिष्ठानका सचिव अच्युत घिमिरेको स्वागत मन्तव्य र सहसचिव मेनका पोखरेल आचार्यको सञ्चालनमा सम्पन्न यस कार्यक्रममा दश जना स्रष्टाले कथा, लघुकथा वाचन गर्नुभएको थियो । जसमा शारदा पराजुली, वसन्त रिजाल, परशुराम पराशर, प्रमोद प्याकुरेल, शान्ति रिसाल, सुशील आचार्य, ऋचा, सरिता दुलाल घिमिरे, दिवाकर न्यौपाने र गङ्गा पौडेल कर्माचाय हुनुहुन्थ्यो ।
कार्यक्रमको अन्त्यतिर प्रमुख अतिथि गङ्गा पौडेल कर्मचार्यले आफू यहीँका कार्यक्रमहरूमा कथावाचन गरेर कथा लेख्न सक्षम भएको कुरा सुनाउनु हुँदै सुरभि साहित्य प्रतिष्ठानले नियमित कथावाचन गराएर धेरैलाई कथाकार बनाएको कुरा बताउनुभयो । यसका लागि यो प्रतिष्ठानको गुणगान गाएर नसकिने बताउँदै यस प्रतिष्ठानका कार्यसमितिका सबै सदस्यहरूलाई धन्यवाद र बधाई दिनुभयो । कार्यक्रममा अर्का अतिथि विनोद दाहाल वत्सले सुरभि यस क्षेत्रको प्रशंसा गर्न योग्य साहित्यिक संस्था भएको कुरा बताउँदै आख्यान वाचनमा निरन्तरता दिएर यसले रेकर्ड कायम गरेको यथार्थ हो भन्नुभयो । दिउँसो १ बजे सुरु भएको यो कार्यक्रम २ः३० मा समापन भएको थियो ।