- यशोदा अधिकारी
झलझली बलेको मेरो शरीरलाई
कुरुप भन्ने तिमीलाई के अधिकार ?
आफ्नो घर आफै बनाएको छुु
पेट भर्ने जोहो आफैले गरेको छु
दिनभरि माटो खनेर तिमीलाई उपहार दिएकै छु
किराफट्याङ्ग्रा चपाएर जीवन जोगाइदिएकै छु
तैपनि मलाई देखेर कुसाइत पर्यो भन्ने तिमीलाई के अधिकार ?
मैले तिम्रो अनाज बिगार्ने धमिरा खाएँ
कमिला खाएँ
फट्याङ्ग्रा धपाएँ
खाएँ सारा तिम्रा विकारहरु
मलाई अछुुत भन्दै सिकार गर्ने
तिमीलाई के अधिकार ?
घरी घरी तिम्रो म कुजात हुन्छुु
कहिले सालमछरी हुुन्छु
कहिले भकुन्डे भुत हुन्छुु त
कहिले पाखे माछो
स्वीकार छ जे भने पनि भन मलाई
म खुरूखुरू वनभरिका सालका रूख पछ्याउँछुु
सालघारीमा डढेलो लगाएर
मलाई तर्साउने
तिमीलाई के अधिकार ?
म रोएको छुु कैयौँ दिन
पल पल मरेर खपटा जोगाएको छु
यस धर्तीमा तिमी मात्रै बाँच्नुपर्छ भन्ने
कहाँ लेखिएको छ ?
तिमीले सुटुक्क चोर्यौ मलाई
तिमीले सुटुक्क बेच्यौ मलाई
कैयौँपटक चपाई चपाई खायौ मलाई
औषधीको नाममा
जिउँदो हुँदा
खुलेर श्वास फेर्न नपाउने मेरो जीवन
वायुयान चढाएर मरेपछि पुर्यायौ
विश्वमानचित्रभरि भरि
अहो ! देखिरहेछुु तिम्रो मानवता
म छु तिम्रो अस्तित्व छ
अस्तित्व छ अरुहरुको
यो धर्तीमा तिमी मात्रै बाँच्नुपर्ने
तिमीलाई के अधिकार ?
हुन सक्छुु म
तिमीभन्दा कमजोर शरीर लिएर दौडिरहेको
मेरो शरीर मेरो अधिकार भनेर
आन्दोलन चलाउन सकिनँ हुँला
तिमीले ताकेको गोली छल्न सकिनँ हुँला
ठिक छ मार मलाई
निस्फ्रिक्री मार
मलाई बेच र चपाऊ
तिमी अघाएको दिन मेरो अस्तित्व सकिएला
त्यस दिन घोषणा गरिने छ
तिम्रो अस्तित्वको अन्त्य
अहो ! मेरो शरीरमाथि यत्रो राजनीति गर्ने
तिमीलाई के अधिकार ?
भो मबिना तिम्रो जीवन चल्छ भने
गर्नु पर्दैन मेरो चोरी निकासी
मबिना प्रकृतिले आँसु झार्दैन भने
खेल्नु पर्दैन जाबो सिकार
मबिना तिम्रो अस्तित्व रहिरहोस् युगौंयुग
म आफै आफ्नो हत्या गरेर सुम्पिदिन्छुु
बहुमूल्य खपटा
सुम्पिदिन्छुु मेरो शरीर
कहिल्यै नआउने गरी बिरानो भइदिन्छुु
त्यतिखेर पाउने छैनौ तिमीले चलाउन
सालक संरक्षण अभियान ।