डा. हिमलाल श्रेष्ठ
(कटुन्जे, भक्तपुर)
पात छैन
जरा छैन
फल छैन
फूल छैन
जराले माटो छोएको छैन
न बेली न चमेली
लहरा लतिका
आकाशबेली
लमतन्न सडक
विगत तोडेर
वर्तमान छोडेर
सडकमा असरल्ल
भविष्यहरु !
जुन सहरमा
मानिसहरु सुतेर फुर्सदले उठ्छन्
र अनेक सपना देख्छन्
कतै त्यो विश्व विजयको किन नहोस्
कुनै सपनाको सहरमा
परिश्रम र समय व्यवस्थापन गर्दा गर्दा
सुत्ने र उठ्नेको थोरै मात्र अन्तर छ,
सपना देख्नै पर्दैन सब यथार्थ
साक्षी बस् उही
लतिका आकाशबेली !
सपना नदेखेपछि
कुद्नु परेन
फुट्नु परेन
नफुटेपछि फेरि जुट्नु परेन
र जुट्नु परेन फेरि
फुटेर काँचका टुक्राहरु
टाइम ट्राभलको कसीमा फेल हुनु परेन
होनहार आइन्स्टाइनलाई
यता टाँसिएर
उता लेप्सिएर
जीवित छ आकाशबेली
र ऊ समयको साक्षी छ
जो जो ठिङ्ग उभिए सतिसालझैँ
बेतोडको भुइँचालोमा
भाँचिए धरहराझैँ
जो जो तङ्खवज्ञान लिएर
सयौँ फुल्न देऊ
भनेर बाटो छाडे
बिर्सिए बटुवाले
आफ्नो बाटो काटेपछि
आफूले नेटो काटेपछि
कहिले भुइँलतिका बनेर कहिले
बुई चढ्छ कहिले
पाहुना लागेर
घरभित्रै कब्जा जमाउँछ, आकाशबेली
र ऊ जीवित छ,
र इतिहासको साक्षी छ
ऊ साक्षी छ
धर्तीमा उम्लिएको पानीको तापमानको
र ऊ साक्षी छ आकाशको प्रदूषणको
किनकि ऊ आकाशबेली हो
जोड्छ,
धर्ती र आकाश
निस्सासिएर
गजधम्म परेको आकाशको हेक्का छ
बेमौसमको बाढी पसेर
किसान रूवाएको आभास छ
खडेरीले
आगोका लप्कासँगै जगत् तताएको याद छ
आकाशबेली !
उसका
पहेँला खिरिला
बाहुपासजस्ता लहरा
सुषुप्त झ्याङ्गिन्छन्
ऊ सक्दैन आफ्ना लागि खाना बनाउन
ऊ सक्दैन आफ्ना खानाको सञ्चयन गर्न
पाहुना जसरी ऊ झाडी,
बुट्यान र रूखको ओत लाग्छ
आफूलाई बचाइराख्छ
सत्ताको मातले
बिर्सन्छन्
सडकको पीडा
उभारको रौनकले बिर्सन्छ धर्ती
डढेलो, खडेरी र बाढी
मौसम बिर्सन्छ
आफ्ना बवन्डर
तर
सम्झनामा ताजै छ
हरेक मानवका कारनामा
आकाशबेलीको कोमल लतिकामा


