विनिशा सापकोटा

मातृभूमिको स्नेहमा
न्यास्रिएको मेरो मन
जब छातीभरि प्रकृतिको
झझल्को साँचेर
परदेशबाट विमानसँगै
उड्यो
सेता हिमालका
ताँतीहरुलाई सुसेल्दै
डाँडाकाँडा र हरिया
वनजङ्गल चुम्दै
कहिले सुनकोसी र
तामाकोसीको
नागबेली बहावमा नाच्दै
विमानले टेक्यो मेरो प्राण
भरिएको माटो
तब वसन्तको मुजुरझैँ
नाच्यो मेरो मन ।
परदेशको स्वच्छ हावामा पनि
स्वदेशको सुवासको
अभावमा निसास्सिइरहेकी
मैले सोचेकी थिएँ
मातृभूमिमा पाइला टेक्ने
बित्तिकै
छातीभरि भरिने छ
मेरो देशको सुगन्ध
सोचेकी थिएँ
दगुर्दै मलाई अँगाल्न आउने छन्
मेरा बाग्मती र विष्णुमती
अफसोस्
मेरो देश त यतिखेर
प्रदूषणको जलपले सिँगारिएर
कृत्रिम हाँसो
मुस्कुराइरहेको रहेछ
मन्दिरैमन्दिरको राजधानी
अगरबत्ती र कपुरको बास्ना गुमाएर
दुर्गन्धको सास
फ्याँकिरहेको रहेछ ।
‘बुद्धको देशमा तपाईलाई स्वागत छ’
लेखिएको आगमन कक्षकै
होर्डिङ बोर्डमा लागेको खियाले
उही पुरानो दृश्य
सम्झाइदियो
–खिया लागेको राजनीति
–खिया लागेको योजना आयोग
–खिया लागेको देशको तस्बिर ।
गुडाउँदै गरेको लगेज रोकेर म
टक्क अडिन्छु र गम्छु
देश खोज्न परदेशबाट
घरदेशमा आएँ तर अफसोस
मैले देखेको देशभित्र
मैले खोजेको देश रहेनछ ।

Facebook Comments Box

Similar Posts