तोयनाथ भट्टराई
कोरोना छल्दै बाँचिएको छ
आजसम्म त
बाँच्न सफलहरुको नामावलीमा छ
हाम्रो जेष्ठ नागरिक जिन्दगी !
घर छोडिएको छैन
बैठक अन्तरक्रिया भर्चुअल हुन्छन्
जुममा फेसबुकमा अडियो भिडियोमा !
कतै जानु नपरेपछि
लुगाफाटा, जुत्तामोजा
सङ्ग्रहालयमा थन्के झैँ थन्केका छन् !
सहरमा, सडकमा वा भोजादिमा
इष्टमित्रले बिहेबटुलामा बोलाउँछन्
बोलाएको ठाउँमा नजाऊँ कसरी नजाऊँ
मानको अपमान गरेको बात लाग्ला
वृद्धलाई सम्मान गरेर आएको निम्तो
जाऊँ कसरी जाऊँ ?
यो महामारीको प्रोटोकोल नाघेर
भरे क्यै भइहाल्यो भने ?
बुढाबुढी अगेनाको दुईतिर बसेर
वा रातभरि ओछ्यानमा ओल्टिँदै पल्टिँदै
यस्तै कुरा सोचेर अनिद्रा झेल्नुपर्छ !
आमन्त्रित समारोहको दिन टरेपछि
बल्ल अलिकति ढुक्क लाग्छ तर
आफ्नो पर्दा यसै गरी अरु आइदिएनन् भने
कस्तो होला भन्ने पनि लाग्छ !
जान त मन हुन्छ तर मुटु मिचेर
रिग्रेट पठाउनुको विकल्प रहँदैन !
यसो समाचार हेर्यो सुन्यो
न नेताहरु न कार्यकर्ता भैतिक दूरी मान्छन्
कम्तीमा मास्क चैँ लाइदिए हुन्थ्यो नि ?
भ्रष्टाचार नगरेकाले
स्वास्थ्यको नियम मान्न मास्क लगाइदिए
भ्रष्टाचारमा डुबेकाले
त्यो भ्रष्ट नाक छोप्नै मात्र भए पनि मास्क लगाइदिए
अलिकति मात्र भए पनि कोविदको जोखिम घट्दो हो !
रक्तचाप, मधुमेह, प्रोस्ट्रेट र अन्य कति रोग छन्
अस्पतालमा उस्तै भिड छ
यसो भौतिक दूरी कायम गरेर क्युमा राखे पनि हुने नि !
भिडमा भौतिक दूरी मिचिएर सङ्क्रमण हुँदा
त्यही कारणबाट यो कच्चा शरीर
अभौतिकीकरण हुन बेर छैन !
दूरबाट कोविद विरूद्ध खोप ल्याए भन्छन्
यो धनीले चुसेको गरिब देशमा
हाम्रो पालो कहिले आउला भन्दै
चिन्तैचिन्ताको बिचमा केवल मनोबलको भरमा
कोविदकृत असङ्ख्य मानव अवसानका
दुःखद खबर सुन्दै सुन्दै
’हे भगवान् जसरी भए पनि यो कोरोनाबाट जोगाइदेऊ !’
भन्दै भन्दै आशैआशमा बाँचिएको छ
यो सोझो निमुखो र निर्धो जेष्ठ नागरिक जिन्दगी !


