जेठ १८, काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार गणेश रसिकको निधन भएको छ।
विगत पाँच वर्षदेखि प्रोष्टेट क्यान्सर रोगबाट पीडित रसिकको ७७ वर्षको उमेरमा आइतबार उपचारकै क्रममा निधन भएको हो ।
आइतबार हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
रसिककी छोरी बेलायतमा रहेको र उनी आएपछि सोमबारमात्रै अन्त्येष्टि गरिने तयारी परिवारको छ। छोरी नफर्केसम्म रसिकको शव त्रिवि शिक्षण अस्पतालमा राखिनेछ ।
रसिकले आफ्नो अन्तिम इच्छामा अन्तिम संस्कार भोजपुरमा गर्न आग्रह गरेकाले साही अनुसारको तयारी रहेको पारिवारिक स्रोतको भनाइ छ।
नेपाली साहित्यिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रसिकले करिब पाँच दशक कला-साहित्यमा बिताएका छन् । २००४ साल असोज ४ गते भोजपुरको नौलागाँउमा जन्मिएका उनले करिब ३१ वर्षसम्म विभिन्न विभाग र संस्थाहरूमा विविध जिम्मेवारी निर्वाह गरेका छन् ।
रसिकका क्षितिजलाई ‘छुन खोज्दा’ (कथासंग्रह २०२४), ‘एउटा सारंगी छुन खोज्दा’ (कथासंग्रह २०२७), ‘रसिकका गीतहरु’ (गीतसंग्रह २०४५), ‘आकाशगंगाको ओतमुनि’ (उपन्यास २०४८), ‘जब सिस्नुहरु टेक्दै हिँडेँ’ (संस्मरण २०५५), ‘बिलाउँदै गएका गीत’ (कथासङ्ग्रह- २०५८), ‘दशगजामा उभिएर हेर्दा’ (उपन्यास २०६३), ‘स्वाधिनताको पीडा’ (गीतसङ्ग्रह २०६८) , ‘पेरुङ्गो संस्करण’ (पाँच कृति २०७३) लगायत प्रकाशित छन् ।