सागर फुयाल
बर्लिन, जर्मनी।
उसले केही पैसा तिरेर
बजारबाट आफूलाई किनेको देख्दा
आफ्नो पनि केही त मूल्य रै’छ नि भनि
कुखुरा दङ्ग छ आज।
उसले दुई हातले समाती
बडो जतनले भान्छामै लगेपछि
आफ्नो पनि मान रै’छ, सान रै’छ भनि
कुखुरा दङ्ग छ आज ।
उसले कराई धोई पखाली
चिटिक्क पारेको देख्दा
सिलौटोमा पिसेको
गरम-गरम मसलाको मगमग वास्ना
आफ्नै नासापुट वरपर डुल्दा
निक्कै स्वादिलो परिकार सहित
मेजमानी उसको पाउँने भएँ भनि
कुखुरा दङ्ग छ आज॥