प्रभाती किरण

लवज अलि कुलीन देखिनुको रहस्य के ?
ठम्याउन साह्रै कठिन देखिनुको रहस्य के ?

फेरिएछ रूपरङ्ग चमक अनि आभा अर्कै
विचार भने सधैँ प्राचीन देखिनुको रहस्य के ?

एक भई नङ्गमासु बाँचेकालाई छुटाउने
खेल खेल्न यस्तो प्रवीण देखिनुको रहस्य के ?

जलाएर मानिसकै आस्थाका ती धरोहर
त्यस्तो संवेदनाहीन देखिनुको रहस्य के ?

डढाएर राप बस्तीको ताप्छौ के त अझै पनि
नत्र डढाउन तल्लीन देखिनुको रहस्य के ?

पुगिन्छ रे धेरै ठाउँ र बेचिन्छ रे हाम्रो नाउँ
हाम्रै शिरमा नौलो सङ्गिन देखिनुको रहस्य के ?

मर्यो आश रात चिर्न सूर्योदय हुन्छ भन्ने
मेरो ‘किरण’ सधैँ दक्षिण देखिनुको रहस्य के ?

प्रकाशित २०६३ मङ्सिर अंक(शब्दाङ्कुर साहित्यप्रधान मासिक)

Facebook Comments Box

Similar Posts