राजबाबु श्रेष्ठ ‘सागर’

जसलाई खबर पठायौ
ऊ बेखबर छ साथी ।

टेकेर ग्लेसियर सगरमाथाको
आगोको अनुभूति लिन्छ ऊ
बेचेर दुधालु गाई गधा किन्छ ऊ
रेटेर आफ्नै आमाको शिर दुस्मनको हात दिन्छ ऊ
वाह ! क्या बुद्धिमानी मेरो साथी ।

थाहा छैन उसलाई,
विद्वान् र बुद्धिमानीका कुन पहाड अग्ला हुन् ?
भाँच्चिनु र टुक्रिनुको पीडा एउटै हुन् कि फरक हुन् ?
थाहा छैन उसलाई आगो के हो ?
र त खेल्छ ऊ आगोसँग,
बेफिक्री भएर एउटा अनजान बालकझैँ
चिन्दैन ऊ साँप र बाबियोको डोरी
र त खेल्छ ऊ बेफिक्री भई हातले समाई,
आमाको घाँटीको तिलहरीझैँ ।

जसलाई खबर पठायौ
ऊ बेखबर छ साथी
वाह ! क्या बुद्धिमानी मेरो साथी
साथी त यस्तो पो साथी,
बनेर गधा बोकेर पिठ्युँमा किताबको भारी
भोकमा ऊ घाँस चर्दछ ।

वाह ! क्या बुद्धिमानी मेरो साथी
जसलाई खबर पठायौ
ऊ बे खबर छ साथी ।

Facebook Comments Box

Similar Posts