विमल गिरी
(बिर्तामोड २, चारपाने, हाल: बेल्जियम, ब्रसेल्स)
१. सम्झँदा ‘नि सास त्यसै रोकिन्छ यादमा तिम्रो
हरहर अजम्बरी माया ठोकिन्छ यादमा तिम्रो
घरी रोएजस्तो गर्छु घरी त टोलाएजस्तो गर्छु
हृदय हल्लिन्छ आँखा पोखिन्छ यादमा तिम्रो ।
२. आपसी सम्बन्ध मोलतोलमा बिक्छ भन्थे, हो रहेछ
विवाद नगर्नू, बोल्दै नबोल्नू ठिक छ भन्थे, हो रहेछ
फूलजस्तो जीवनमा कागजस्तो कर्कश आवाजले
बोल्दाभन्दा बुझ्दा सम्बन्ध टिक्छ भन्थे, हो रहेछ ।
३. झुक्याएर कलेजी निचोर्ने कुरा मन पर्छ
धारेहात पार्दै सराप्दा बज्ने चुरा मन पर्छ
पश्चात्तापको मौन विलाप गर्दै तिखो त्यो
मलाई प्रहार गर्ने उनको छुरा मन पर्छ ।
४. सुकोमल निश्चल जिन्दगीले हो छल्छ एक दिन
फूलजस्तो यौवन पनि चितामा बल्छ एक दिन
मोनालिसाले जस्तै मुस्कुराउन सकौँ बाँचुन्जेल
समय शक्ति सम्पत्ति र शरीर ढल्छ एक दिन ।


