सुमन थापा ‘संगम’
(काठमाडौँ)

कस्तो बीज रोप्यौ खै
मस्तिष्कको कान्ला कान्लामा
हुर्किरहेछ सम्झनाका भ्रूणहरु ।

आँखाले सपनी बोलाएर
खेलिरहेछ तिमीसँगै
म देखेर पनि
नदेखे झैँ गर्छु तिमीलाई
तर सम्झना बनेर छुन्छौ मलाई

आँखैअगाडि आएर
उघार्छौ परेलीका ढोकाहरु ।

तिमीलाई सम्झिँदा
यो मन
चङ्गाजस्तै माथिमाथि
आकाश छुन
उडे झैँ आनन्दित हुन्छ
अनि
बाँधिराखेको मन
आफ्नै मुट्ठीबाट फुत्किएर
छरिन्छ भुईंभरि

शीतको वर्षाले
दुबोका मसिना केस्राहरु लुछुप्प भिजे झैँ
यो मनसम्म भिज्न पुग्छ
तिमीसँगको मिठो सम्झना

नभने झैँ गरी
कविताकै हर˚बाट भन्छौ
‘माया गर्छु’ तिमीलाई
अनि
आफूलाई विश्वास नगरे झैँ
वर्तमानसँग टाढिन खोज्दै
फेरि भन्छौ
‘माया त केवल भ्रम हो’

भ्रम नै भए पनि
यही भ्रमको सुन्दर सहरमा
हराए झैँ भइरहेकी छु म ..

Facebook Comments Box

Similar Posts