कार्तिक १९, धरान । कवि विमल गुरुङ स्मृति पुस्तकालयमा २०८२ कात्तिक १९ गते बुधवार आयोजित ५४ औँ जन्म जयन्ती समारोहमा दुई लाख रुपैयाँ राशीको विमल गुरुङ कृति पुरस्कार ‘सिमसारा’ उपन्यासका लागि पत्रकार वसन्त बस्नेतलाई प्रदान गरिएको छ ।
सोही अवसरमा ३४ औँ राष्ट्रिय कविता महोत्सवमा पाठ गरिएका कविताहरू मध्ये इलामेली कवि रीजन मायालु’ प्रथम भए । धरानका कवि दिनेश राई द्वितीय र वराहक्षेत्रकी कवि यत्री दीपा मग्राती तृतीय भइन् ।
उनीहरूलाई प्रथम पुरस्कार नगद २१ हजार, दोस्रो पुरस्कार १९ हजार र तेस्रो पुरस्कार १७ हजार प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । समारोहमा कवि चन्द्र गुरुङद्वारा सम्पादित विमल गुरुङ संस्मरण पुस्तक लोकार्पण गरियो ।
प्रमुख अतिथि लालीगुराँस नगरपालिकाका मेयर अर्जुन माबुहाङले पुरस्कार वितरण गरेका थिए । सिनेकर्मी नवीन सुब्बा विशेष अतिथि थिए । पुस्तकालय अध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार पुरस्कारका लागि स्वदेश तथा विदेशमा रहेका नेपाली भाषी लेखक, साहित्यकार र सर्जकबाट १०४ कृति प्राप्त भएको थियो ।
उन्नाइस वर्षकै उमेरमा सवारी दुर्घटनामा ज्यान गुमाएका कवि विमल गुरुङको स्मृतिमा पिता पूर्णबहादुर गुरुङले पुस्तकालय स्थापना गरेका हुन् । उक्त पुस्तकालयले बर्सेनि राष्ट्रिय स्तरमा कविता प्रतियोगिता आयोजना गर्दै आएको छ ।
Facebook Comments Box


