भदौ २१, काठमाडौँ — गायक खेमराज गुरुङ स्मृति ट्रष्टले यो वर्ष दुई स्रष्टालाई सम्मान गरेको छ । वरिष्ठ गायक एवं भजन शिरोमणि भक्तराज आचार्यलाई गायक खेमराज गुरुङ स्मृति सम्मान र  प्रतिभा पुरस्कार गीतकार तुलसी बस्नेतलाई प्रदान गरेको हो । प्रज्ञा भवन कमलादीमा बुधबार आयोजित कार्यक्रममा ५० हजार रुपैयाँ राशिसहित आचार्यलाई दिइएको सम्मान उनका छोराहरु सत्यराज र स्वरुपराज आचार्यले ग्रहण गरे।

ट्रष्टले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यतामा आचार्यलाई सम्मान गरेको हो । विसं २०३० सालमा अधिराज्यव्यापी राष्ट्रिय गीत प्रतियोगितामा प्रथम भएसँगै नेपाली गीत संगीतको क्षेत्रमा गर्विलो उपस्थिति जनाएका आचार्यका राष्ट्रिय गीत, बालगीत, आधुनिक गीत, चलचित्रमा पार्श्व गायनसमेत गरी ३७५ वटा आफ्नै संगीत र २५ वटा अरुका संगीतका गरेर ४ सय गीत रेकर्ड छन् ।

‘हजार सपनाह्ररुको माया लागेर आउँछ,’ ‘मुटु जलिरहेछ,’ ‘जहाँ छन् बुद्धका आँखा’ लगायत दर्जनौं कालजयी गीतमार्फत नेपाली गीत संगीतको श्रीवृद्धिमा उल्ले योगदान पुर्याएकाले आचार्यलाई सम्मान गरिएको ट्रष्टले जनाएको छ। यसअघि ट्रष्टबाट वरिष्ठ गीतकार रत्नसम्सेर थापा, वरिष्ठ संगीतकार प्रकाश गुरुङ, वरिष्ठ जनपक्षीय गायक रामेश र वरिष्ठ गायक दीप श्रेष्ठ सम्मानित भइसकेका छन् ।

ट्रष्टले यो वर्षको प्रतिभा पुरस्कार गीतकार तुलसी बस्नेतलाई प्रदान गरेको छ । रेडियो नेपालद्धारा आयोजित अधिराज्यव्यापी आधुनिक संगीत सम्मेलन २०५९ मा प्रथम भएका बस्नेतका दर्जनौ गीत लोकप्रिय छन् । उनलाई नगद २० हजार रुपैयाँ राशिसहितको पुरस्कार प्रदान गरिएको ट्रष्टले जनाएको छ।

उनीअघि उक्त पुरस्कार गायिका मेलिना राई, गायकहरु ओमप्रकाश राई, सुसन लामा र भविन ढुंगानाले पाएका थिए । गायक खेमराज गुरुङको स्मृतिमा २०७४ मा स्थापना भएको ट्रष्टले नेपाली गीत, संगीत, कला, साहित्य र संस्कृतिको जगेर्नाका लागि विभिन्न गतिविधि गर्दै आएको छ।

गायक खेमराजको निधन २०७३ भदौमा कृष्ण जन्माष्टमीका दिन भएको थियो । उनका ‘वारि जमुना, पारि जमुना,’ ‘आलु तामाले,’ ‘धरानै बजार’ लगायत गीतहरु लोकप्रिय छन् । उनको स्मृति स्थापित ट्रष्टले कृष्ण जन्माष्टमीका दिन पारेर पुरस्कार तथा सम्मानको कार्यक्रम गर्दै आएको छ ।

Facebook Comments Box

Similar Posts