जेठ १५, काठमाडौँ । सुरभि साहित्य प्रतिष्ठानले यशस्वी आख्यानकार रमेश विकल र हास्यव्यङ्ग्य महारथी भैरव अर्यालका व्यक्तित्व र कृतित्वमाथि गरिएका समालोचनात्मक कृतिहरु ‘रमेश विकल: समालोचनात्मक अन्वेशण’ र ‘हास्यव्यङ्ग्य महारथी: भैरव अर्याल’को लोकार्पण गरेको छ । गोकर्णेश्वर नगरपालिकाको प्रायोजन रहेको यस कार्यक्रमको सभापतित्व सुरभि साहत्यि प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले गर्नुभएको थियो भने प्रमुख अतिथिमा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपक रिसाल रहनुभएको थियो । विशिष्ट अतिथिहरुमा गो.न.पा.का उपप्रमुख सान्नानी लामा, भैरव अर्याल गुठी र रमेशविकल साहित्य प्रतिष्ठानका अध्यक्ष एवम् वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे र त्रिभुवन विश्वविद्यालयका नेपाली विभाग प्रमुख प्रा.डा. खगेन्द्र लुइँटेल हुनुहुन्थ्यो । अतिथिहरुमा सुरभि साहित्य प्रतिष्ठानका संरक्षक त्रय गोविन्द घिमिरे वेदमणि, विजय चालिसे, युवराज मैनाली, डिल्लीराज अर्याल, वसन्त रिजाल, गोनपा वडा नं. ८ का अध्यक्ष नन्दलाल श्रेष्ठ, माधव खनाललगायत हुनुहुन्थ्यो भने समीक्षकहरुमा प्रा.डा. भागवत् आचार्य, हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेल, समालोचक पुरुषोत्तम सुवेदी, प्रा.डा. खगेन्द्र लुइँटेल हुनुहुन्थ्यो ।
पानसमा बत्ती बालेर उद्घाटन गरिएको यो कार्यक्रमको सुरुमा सभापति पौडेलले स्वागत मन्तव्यसहित प्रतिष्ठानको प्रगतिविवरण सुनाउनुभएको थियो । कार्यक्रममा समालोचक गोपी मैनालीद्वारा लेखिएको कृति ‘रमेश विकल: समालोचनात्मक अन्वेशण’ र समालोचनक ठाकुर शर्मा भण्डारीद्वारा लेखिएको कृति ‘हास्यव्यङ्ग्य महारथी:  भैरव अर्यालको लोकार्पण प्रमुख अतिथि, विशिष्ट अतिथि र अन्य अतिथिहरुले संयुक्तरूपमा गर्नुभएको थियो । लोकार्पित कृतिहरुमा समीक्षकहरु पुरुषोत्तम सुवेदी र प्रा. डा. खगेन्द्र लुइँटेलले ‘रमेश विकल: समालोचनात्मक अन्वेशण’माथि समीक्षा गर्नुभएको थियो भने प्रा. डा. भागवत् ढकाल र नरनाथ लुइँटेलले हास्यव्यङ्ग्य महारथी:  भैरव अर्याल’माथि समीक्षा गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख दीपक रिसालले गोकर्णेश्वर नगरपालिकाले यस क्षेत्रको साहित्यको संवर्धन गर्ने कार्यमा कुनै कसर बाँकी नराख्ने कुरा बताउनुभयो । यस नगरपालिकाले साहित्यिक संस्थाहरुलाई आर्थिक सहयोग गर्दै आएको र यो क्रमलाई निरन्तरता दिने प्रतिबद्धतासमेत जनाउनुभयो संरक्षकद्वय युवराज मैनाली, गोविन्द घिमिरे वेदमणि र विशिष्ट अतिथि रोचक घिमिरेले शुभकामना मन्तव्य दिनुभएको थियो । वक्ता युवराज मैनालीले रमेश विकल र भैरव अर्यालजस्ता मुर्धन्य साहित्यकारहरुको थलो यो गोकर्णेश्वर नगरपालिका भएकाले यो नगरपालिकाले गरेको कार्यमा सबैले प्रशंसा गर्नैपर्ने कुरा व्यक्त गर्नुभएको थियो । अर्का वक्ता वेदमणिले यस क्षेत्रमा सुरभि साहित्य प्रतिष्ठान, अभिनव साहित्य समाज, भैरव पुरस्कार गुठी, रमेश विकल साहित्य प्रतिष्ठानजस्ता संस्थाहरुले साहित्यको संवर्धन गरिरहेको बताउनुभयो । विशिष्ट अथिति घिमिरेले रमेश विकल र भैरव अर्याल अनन्य मित्र भएकाले अप्ठ्यारो अवस्थामा पनि आएको बताउँदै यस्ता कार्यले सबैमाझ लेखक र लेखनकलालाई चिनाउन सकिने बताउनुभयो ।
कार्यक्रममा लेखकद्वयले पनि आफ्ना कुरा व्यक्त गर्नुभएको थियो । वहाँहरुले यी कृति लेखनसङ्घर्ष र लेखन प्रेरणाका कुरा समेत बताउनुभयो । दिउँसो एक बजे सुरुभएको यो कार्यक्रम त्रिवेणी ब्याङ्केट, बेसीगाउँमा सम्पन्न भएको थियो । कार्यक्रम प्रतिष्ठानका सचिव अच्युत घिमिरेले सञ्चालन गर्नुभएको थियो ।

Facebook Comments Box

Similar Posts