चैत्र २१, काठमाडौँ । नेपाली संवेदना र भोगाइलाई विश्वव्यापी मञ्चमा पुर्‍याउने उद्देश्यका साथ राजधानीको रत्नराज्य लक्ष्मी(आरआर)क्याम्पसमा शनिबार एक अर्थपूर्ण ‘वसन्त कविता महोत्सव’ सम्पन्न भएको छ । ‘वर्तमान कविता समूह’ को आयोजनामा भएको उक्त समारोहमा नेपाली कविहरूले आफ्ना मौलिक भावना र समसामयिक भोगाइहरूलाई अंग्रेजी भाषामार्फत प्रस्तुत गर्दै सिर्जनाको नयाँ आयाम प्रस्तुत गरे । कार्यक्रमका उद्घोषक एवं आयोजक चन्द्रबहादुर लामाका अनुसार नेपाली माटोको सुगन्ध र स्थानीय संवेदनालाई अंग्रेजी शब्दावलीको प्रयोग गरी विश्वभरका पाठक र श्रोतामाझ पुर्‍याउनु यो महोत्सवको मुख्य ध्येय रहेको थियो ।

महोत्सवको उद्घाटन गर्दै कवि विश्व सिग्देलले यो कार्यक्रम बहुभाषिक यात्राको पहिलो पाइला भएको र आगामी दिनमा अन्य भाषाहरूमा पनि यस्तै प्रस्तुति दिइने योजना सुनाउनुभयो । सिग्देलले आफ्नो कविता ‘पब्लिक टोइलेट’ मार्फत आधुनिक सभ्यता र दोहोरो चरित्र बोकेका राजनीतिज्ञहरूमाथि तिखो व्यङ्ग्य प्रहार गर्नुभयो । यस्तै, कवि भीष्म उप्रेतीले ‘ह्वाट इफ द स्काई फल्स’ शीर्षकको कवितामार्फत बाबु(छोराको संवादका माध्यमबाट आकाशलाई मानवीय आकांक्षा र विश्वासको प्रतीकका रूपमा चित्रण गर्नुभयो । प्रेम र अस्तित्वको गहिराइलाई केलाउँदै कवि अभय श्रेष्ठले ‘लभस् अ मेडिटेटिभ स्लीप’ मार्फत देश गुमाउनुको पीडा र अस्तित्वको संकटलाई शब्दमा उतार्नुभयो भने कवि रजनी मिलाले ‘डार्कनेस इन सर्च अफ लाइट’ मार्फत आशावादी दृष्टिकोण प्रस्तुत गर्नुभयो ।

काव्यिक प्रवाहलाई निरन्तरता दिँदै कवि सुमन वर्षाले ‘लुज’ शीर्षकको कवितामा इन्द्रियहरूको त्याग र आन्तरिक शान्तिको दार्शनिक पक्ष उधिन्नुभयो । सामाजिक न्यायको पक्षमा उभिएका कवि रामगोपाल आशुतोषले ‘वान डे द नेसनल एन्थम विल बी प्लेड फर मी टु’ वाचन गर्दै सीमान्तकृत समुदायमा आशाको सञ्चार गर्नुभयो । नयाँ सुरुवातको ऊर्जा बोकेको करुणा नेपालको कविता ‘न्यू विगिनिङ’ र जेन्जी ९न्भल श्० आन्दोलनबाट प्रभावित भई लेखिएको तेजिन एमिल इजमको कविताले शान्ति र आक्रोशको द्वन्द्वलाई प्रस्ट्याएको थियो ।

प्रकृति र वातावरणको मुद्दालाई पनि महोत्सवमा उत्तिकै प्राथमिकता दिइएको थियो । कवि सुवास सिंह पराजुलीले ‘नोटिस फर द लस अफ रिभर’ मार्फत भू(माफियाको चपेटामा परेका नदीहरूको कारुणिक अवस्था सुनाउँदा कवि भुवन थपलियाले ‘स्प्रिङ’ मार्फत प्रकृतिसँगको निकटताले नै मानवीय आत्मा शुद्ध हुने विचार व्यक्त गर्नुभयो । सहरीकरणले प्राकृतिक सौन्दर्यमा पारेको असरलाई आनन्द विजय गुरुङले ‘मोटरसाइकल सायरी’ मार्फत प्रस्तुत गर्नुभयो भने कृपा खनालले सहरी जीवनका प्रेरणालाई तीन खण्डमा कवितामार्फत चित्रण गर्नुभयो ।

महोत्सवको उत्तरार्द्धमा कवि अमर आकाशले ‘एभ्रीबडी नोज, नोबडी नोज’ मार्फत गरिबी र सामाजिक अन्यायको यथार्थ पस्किनुभयो भने रमी प्रियाले ‘इन्चान्टेड इल्यूजन’ मार्फत प्रेमको जादुमयी भ्रम र यथार्थको दुरीलाई केलाउनुभयो । राजनीतिक प्रतिबद्धता र धोकालाई केन्द्रमा राख्दै चन्द्रबहादुर लामाले ‘कोइसन’ मार्फत नेतृत्वमाथि प्रश्न उठाउनुभयो । मृत्यु र जीवनको अन्तिम सत्यलाई धीरकुमार श्रेष्ठले ‘द कल’ मार्फत प्रस्तुत गर्नुभयो भने हरिश अधिकारीले प्रतिकूलताका बीच पनि अस्तित्व जोगाउन संघर्षरत बिरुवाको विम्ब प्रयोग गर्दै मानवीय जिजीविषाको कथा सुनाउनुभयो । सामाजिक विसंगति, प्रेम, प्रकृति र राजनीतिक निराशाको समिश्रण रहेको यो महोत्सवले नेपाली कविताको विश्वव्यापीकरणमा नयाँ इँटा थपेको सहभागीहरूको निष्कर्ष थियो ।

Facebook Comments Box

Similar Posts