असोज २९, काठमाडौँ — मदन पुरस्कार गुठीले जगदम्बा श्री सम्मान र मदन पुरस्कार अर्पण गरेको छ । सोमबार ललितपुरमा आयोजित एक समारोहका बीच गुठीका अध्यक्ष कुन्द दीक्षितले कलाकार टेकवीर मुखियालाई जगदम्बा श्री र ऐंठन उपन्यासका लेखक विवेक ओझालाई मदन पुरस्कार दिएका हुन् ।
अध्यक्ष दीक्षितले विजेता स्रष्टाद्वयलाई प्रमाणपत्र र पुरस्कार राशि दिए । दुवै पुरस्कारको राशि ४/४ लाख रुपैयाँ रहेको छ । ओझाको यसअघि ‘ऐलानी’ नामक उपन्यास प्रकाशित छ भने मुखिया लामो समयदेखि ललितकला र पुस्तकका आवरण सिर्जनामा सक्रिय छन् ।
विसं २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई मदन पुरस्कार प्रदान गरेको थियो ।
विसं २०४५ सालमा रानी जगदम्बाको निधनपछि उनको सम्झना स्वरूप जगदम्बा-श्री पुरस्कारको स्थापना गरिएको थियो । यो सम्मान पहिलोपटक नारायण गोपाललाई दिइएको थियो नेपाल तथा नेपाल बाहिरबाट प्राप्त नेपाली भाषामा प्रकाशित पुस्तकहरूमध्ये एकलाई मदन पुरस्कार तथा नेपाली भाषा, वाङ्मय तथा संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति/संस्थालाई जगदम्बा-श्री दिइँदै आइएको छ ।