भदौ २६, काठमाडौँ । बद्रिप्रसाद ढकालद्वारा लिखित पुस्तक ‘विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा मिथक’ को सडक विमोचन गरिएको छ । बागबजारस्थित प्राज्ञिक बुक्स अगाडि भेला भएका केही साहित्यकारहरुले प्रदर्शन गरेपछि सो पुस्तकको औपचारिक विमोचन भयो ।

‘सडक विमोचन’ नाम दिइएको सो कार्यक्रममा प्रा.डा. सुरेन्द्र केसी, भुँडीपुराण प्रकाशनका निर्देशक केशव पराजुली, साहित्यकार शरद प्रधान, लेखक बद्रिप्रसाद ढकाललगायतका सीमित साहित्यकारहरुको जमघट रहेको थियो ।

पुस्तकको सार्वजनिकीकरण गर्नु मुख्य काम भएकोले सडकमै यो कार्यक्रम आयोजना गरिएको लेखक ढकालले बताए । नयाँ र नौलो स्वाद पस्किन पनि यसरी सडकमा विमोचन गरिएको उनको भनाइ छ । बीपी कोइरालाको १११औं जन्मजयन्ती (२४ भदौ) को अवसर पारेर ढकालले सो कृति विमोचन गराएका हुन् ।

पुस्तकलाई सात अध्यायमा विभाजन गरिएको छ । पहिलो अध्यायमा विश्वेश्वरप्रसाद कोइरालाको जीवनीका प्रमुख पक्ष, दोस्रो अध्यायमा मिथक र नेपाली साहित्य, तेस्रो अध्यायमा विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा मिथकीय कथानक, चौथो अध्यायमा विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा मिथकीय पात्र, पाँचौँ अध्यायमा विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा मिथकीय परिवेश, छैठौँ अध्यायमा विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा मिथकीय शिल्प र सातौं अध्यायमा सारांश तथा निष्कर्ष प्रस्तुत गरिएको छ ।

भुँडीपुराणले प्रकाशन गरेको यो पुस्तकको मूल्य पाँच सय राखिएको छ ।

Facebook Comments Box

Similar Posts