जेठ २३, काभ्रे । नेपाली साहित्य, भाषा, संस्कृति तथा वाङ्मयिक क्षेत्रका विशिष्ट साधकहरूको सम्मानका साथ काभ्रेको बनेपामा बिहीबार भव्य साहित्यिक समारोह सम्पन्न भएको छ। विगत ४२ वर्षदेखि नेपाली साहित्य र संस्कृतिको श्रीवृद्धिका लागि क्रियाशील जनमत वाङ्मय प्रतिष्ठान नेपालले आफ्नो वार्षिकोत्सवको अवसर पारेर विभिन्न विधामा योगदान पुर्‍याएका १० जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरेको हो।

बनेपास्थित अरनिको पार्टी प्यालेसमा आयोजित समारोहमा यस वर्षको ‘जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान’ प्रख्यात अनुवादक, साहित्यकार तथा अनुवादक समाज नेपालका अध्यक्ष डा. बलराम अधिकारी लाई प्रदान गरिएको छ। नेपाली साहित्यलाई अनुवादमार्फत अन्तर्राष्ट्रिय पाठकमाझ पुर्‍याउन खेलेको योगदानको कदर गर्दै प्रतिष्ठानले उनलाई उक्त सम्मान अर्पण गरेको जनाएको छ।

गत बर्ष प्रतिष्ठित ‘अनुवाद प्रज्ञा पुरस्कार–२०८१’ बाट समेत सम्मानित भएका डा. अधिकारीले समारोहपश्चात् अनुवाद क्षेत्रको वर्तमान अवस्था र कृत्रिम बौद्धिकता (AI) को प्रभावबारे आफ्नो धारणा व्यक्त गरे। उनले प्रविधिको विकासलाई सकारात्मक रूपमा लिँदै भने, “हामी आर्टिफिसियल इन्टेलिजेन्सको युगमा छौँ। तर अनुवादलाई जीवन्त, प्रभावकारी र स्तरीय बनाउन केवल मेसिनरी प्रविधि पर्याप्त हुँदैन। यसमा अनुवादकको सिर्जनशीलता र मानवीय संवेदनशीलताको समुचित समन्वय आवश्यक छ।”

उनले प्रविधिले अनुवाद कार्यलाई सहज र द्रुत बनाए पनि मानवीय भावनाले मात्र अनुवादमा वास्तविक जीवन्तता प्रदान गर्न सक्ने धारणा राखे।

यसै समारोहमा वरिष्ठ राजनीतिज्ञ तथा दार्शनिक मोहनविक्रम सिंह लाई ‘कमलराज–जनमत दर्शन साहित्य सम्मान’, वरिष्ठ भाषाशास्त्री प्रा.डा. चूडामणि बन्धु लाई ‘हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान’ तथा संस्कृतिविद् प्रा.डा. वीणा पौड्याल लाई ‘जनमत–सिचि धर्म/संस्कृति सम्मान’ प्रदान गरिएको थियो।

त्यसैगरी साहित्य, संगीत, शिक्षा तथा अनुसन्धानका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका डा. कविता लामा (दार्जिलिङ), वरिष्ठ गायक नन्दकृष्ण जोशी, प्रा.डा. सविना श्रेष्ठ, जगदीश ओझा, राजभाई प्रधान तथा डा. गोविन्द आचार्य समेत विभिन्न सम्मानबाट विभूषित भएका छन्।

प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ साहित्यकार मोहन दुवाल को सभापतित्वमा सम्पन्न कार्यक्रममा वक्ताहरूले जनमत वाङ्मय प्रतिष्ठानले राजधानीबाहिर बसेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा पुर्‍याएको ४२ वर्ष लामो योगदानको उच्च प्रशंसा गरेका थिए।

कार्यक्रममा देशका विभिन्न जिल्लाबाट आएका सयौँ साहित्यकार, लेखक, कलाकार, प्राज्ञ तथा बौद्धिक व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो।

 

Facebook Comments Box

Similar Posts