भदौ १६, काठमाडौं । १८औं पुस्तकालय दिवसका अवसरमा टोखा नगरपालिका वडा नम्बर ८ स्थित जालपा पुस्तकालयमा भदौ १४ गते विशेष कार्यक्रम सम्पन्न गरिएको छ ।
कल्पलता साहित्य परिवार र नेपाल लाइब्रेरी फाउन्डेसन गृहपुस्तकालय अभियान बागमती प्रदेश समन्वय समिति र काठमाडौँ जिल्ला समन्वय समितिको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा कल्पलता द्वैमासिक पूर्णाङ्क १७ लोकार्पण गर्नुको साथै  उपस्थित साहित्यकारहरूले कल्पलता साप्ताहिक काव्यवाचन १८४औं श्रृङ्खलाअन्तर्गत पठनसंस्कृति र पुस्तकालय सम्बन्धि आ-आफ्नो रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल लाइब्रेरी फाउन्डेसनका अध्यक्ष डा. छायादत्त न्यौपाने ‘बगर’ले पठनसंस्कृति कुनै पनि समाजको बौद्धिकता, सिर्जनशीलता र नैतिक चेतनासँग प्रत्यक्ष सम्बन्ध राख्ने विचार व्यक्त गर्नुभयो । उहाँले पठनसंस्कृति नै सचेत, सिर्जनशील र नैतिक समाज निर्माणको आधार भएकोले बाल्यकालदेखिनै पढ्ने संस्कार रोप्न सक्यौं भने सचेत, सिर्जनशील र नैतिक समाज निर्माण गर्न ठूलो आधार बन्न सक्छ भन्नुभयो ।
सो अवसरमा डा. मेघराज ढकालले पुस्तकालयको इतिहासबारे जानकारी राख्न सुझाव दिँदै पुस्तक पढ्ने बानी केवल ज्ञान प्राप्तिको माध्यम मात्र नभएर जीवन दृष्टिकोण विकास गर्ने महत्वपूर्ण अभ्यास हो भन्नुभयो ।
कार्यक्रमको सटिक समीक्षा गर्दै अधिवक्ता डा. प्रेमराज सिलवालले हालको सन्दर्भमा पठनसंस्कृति पर्याप्त र सशक्त नभए पनि भविष्यका सम्भावनाहरू भने प्रचुर रहेको उल्लेख गर्नुभयो ।
सो अवसरमा नेपाल लाइब्रेरी फाउन्डेसन गृहपुस्तकालय अभियान बागमती प्रदेश समन्वय समितिका संयोजक देवराज सिंखडाले पठनसंस्कृति प्रवर्धन, सम्भावना र चुनौतीका बारेमा बोल्दै गृहपुस्तकालय अभियानका सम्बन्धमा प्रकाश पार्नुभएको थियो ।
नेपाल लाइब्रेरी फाउन्डेसन गृहपुस्तकालय अभियान काठमाडौँ जिल्ला समन्वय समितिका संयोजक घनबहादुर थापाले संचालन गर्नुभएको सो कार्यक्रममा कल्पलता साहित्य परिवारका सदस्य जे.पी. नेपालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
जापला पुस्तकालयका सल्लाहकार तथा कल्पलता साहित्य परिवारका उपाध्यक्ष दिपक बानियाँको सभाध्यक्षतामा सम्पन्न सो कार्यक्रममा डा. मेघराज ढकाल, मेघनाथ गौतम, देवराज सिंखडा, घन थापा, जे.पी.नेपाल, सुदर्शन अधिकारी, रामप्रसाद पौडेल, बेनी बहादुर थापा, गोबिन्दराज पौडेल, सुशील आचार्य, टंक बहादुर खत्री, अर्जुनबाबु तिवारी, दिपक बानियाँ, माया बस्नेत थापा, रमिता थापालगायका स्रष्टाहरूले पठनसंस्कृति र पुस्तकालय सम्बन्धी आ-आफ्नो रचना वाचन गर्नुभएको थियो ।
नेपालमा पुस्तकालय दिवस हरेक वर्ष भाद्र १५ गते मनाइने गरिएको छ । यस वर्ष १८औँ पुस्तकालय दिवस “हाम्रो पुस्तकालय, हाम्रो भविष्य” आदर्श वाक्यका साथ केन्द्र, प्रदेश र पालिका तहमा विभिन्न कार्यक्रमहरू गरी भव्यरूपमा मनाइदै छ ।
Facebook Comments Box

Similar Posts