माघ १७, काठमाडौँ । सुरभि साहित्य प्रतिष्ठानले आफ्नो १८ औँ वार्षिकोत्सव स्रष्टाहरूलाई विभिन्न साहित्यिक पुरस्कारहरू समर्पण तथा अभिनन्दन गरेर मनाएको छ । माघ १७ गते शनिबार सम्पन्न कार्यक्रममा प्रतिष्ठानका संरक्षक तथा कथाकार युवराज मैनालीद्वारा लिखित ‘पात्र विघटन’ लघुकथासङ्ग्रह लोकार्पण समेत गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्व तथा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रा.डा.खगेन्द्रप्रसाद लुइँटेल, इतिहासविद् प्रा.दिनेशराज पन्त, समालोचक गोपी मैनाली, कृति विश्लेषक कवि महेश प्रसाईं, प्रतिष्ठानका संरक्षक वेदमणि घिमिरे तथा डा.अर्जुनदेव भट्ट लगायतको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा प्रा.डा.समालोचक अभि सुवेदीलाई अभिनन्दन गरिएको थियोे भने गुरुप्रसाद मैनाली सुरभि आख्यान पुरस्कार २०८२ बाट आख्यानकार खगेन्द्र सङ्ग्रौलालाई नगद राशि रू २५०००/– सहित पुरस्कृत गरिएको थियोे । सुरभि बाजुराम आख्यान साधना पुरस्कार २०८२ बाट कथाकार सुशीला प्रधानाङ्गलाई नगद राशि रू २५०००/– सहित पुरस्कृत गरिएको थियोे । सुरभि विजय वाङ्मय पुरस्कार २०८२ बाट समालोचक ठाकुर शर्मा भण्डारीलाई नगद राशि रू ५१०००/–सहित पुरस्कृत गरिएको थियोे यसैगरी सुरभि रमा–बद्री निबन्ध पुरस्कार २०८२ बाट निबन्धकार रामप्रसाद पन्तलाई नगद राशि रू २५०००/– सहित पुरस्कृत गरिएको थियोे ।
प्रमुख आमन्त्रित व्यक्तित्व मेयर दीपककुमार रिसालले गोकर्णेश्वर नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रममा साहित्यिक कार्यक्रमहरू समावेश गर्ने गरिएको बताउँदै नगरपालिकाभित्र स्थानीय, राष्ट्रिय साहित्यिक कार्यक्रम हुँदै आएकोमा अब अन्तर्राष्ट्रिय स्तरको साहित्यिक कार्यक्रम गर्ने योजना रहेको बताउँदै हाल नगरपालिकाभित्र १० साहित्यिक संस्थाहरू रहेको र सबै संस्थालाई नगरपालिकाले सहयोग गर्दै आएको बताउनुभयो ।
कार्यक्रमका सभापति तथा प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले अभिनन्दित तथा पुरस्कृत व्यक्तित्वहरूलाई बधाई दिँदै कार्यक्रममा उपस्थित सबैमा हार्दिक आभार प्रकट गर्नुभएको थियो । अभिनन्दित व्यक्तित्व प्रा.डा.अभि सुवेदी तथा पुरस्कृत व्यक्तित्वहरू खगेन्द्र सङ्ग्रौला तथा सुशीला प्रधानाङ्गले मन्तव्य राख्नुभएको थियो । सुरभिका संरक्षक युवराज मैनालीले पुरस्कृत व्यक्तित्वहरूको परिचय गराउनुभएको थियो । कार्यक्रममा सुरभिका संरक्षक गोविन्द घिमिरे वेदमणि, प्रा.डा. खगेन्द्र सङ्ग्रौला, प्राज्ञ दिनेशराज पन्त र गोपी मैनालीले मन्तव्य दिँदै पुरस्कृतलाई बधाई दिनुभयो ।
पुस्तकका भूमिका लेखकसमेत रहेका समालोचक महेश प्रसाईंले लोकार्पित लघुकथाहरूको संक्षेपमा समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । टिप्पणीका क्रममा उहाँले कथाकार युवराज मैनाली नेपाली लघुकथामा पहिलो खलिल जिब्रान भएको बताउँदै मैनालीका कथाहरू पढ्दा कविता पढे जस्तो लाग्छ भनेर बताउनुभयो ।
मञ्चासिन व्यक्तित्वहरूबाट सामूहिक रूपमा ‘पात्र विघटन’ लघुकथासङ्ग्रह लोकार्पण गरिएको थियो । एक सय एक लघुकथाहरू रहेको यो कृति युवराज मैनालीको दोस्रो लघु कथासङ्ग्रह हो भने हालसम्म उहाँका ८ थान कृतिहरू प्रकाशनमा आइसकेका छन् ।
कार्यक्रममा मणिपुर–आसाम, भारतका साहित्यकार मुक्ति गौतम, ललिता दोषी, महेन्द्र चालिसे, मधुसूदनप्राद घिमिरे र प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरले लघुकथा वाचन गरेका थिए । प्रतिष्ठानको गतिविधि तथा पुरस्कारहरूका बारेमा सदस्य वसन्त रिजालले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा सुलेख साहित्यिक मासिक पत्रिकाको विजय चालिसे स्मृति अङ्क पनि लोकार्पण गरिएको थियोे भने कथाकार तथा पत्रकार विजय चालिसेको तस्बिरमा फूलमाला चढाई हार्दिक श्रद्धासुमन अर्पण गरिएको थियोे ।
बेँसीगाउँ, ढोल्खाधारोस्थित कृष्ण मन्दिरको प्राङ्गणमा भएको कार्यक्रममा प्रतिष्ठानका सहसचिव मेनुका पोखरेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव अच्युत घिमिरेले गर्नुभएको थियो ।

 

Facebook Comments Box

Similar Posts