श्यामप्रसाद श्रेष्ठ
‘देश त लथालिङ बनायो नि !’ आकाशले चियाको सुर्को तान्दै मनभित्रको असन्तोष पोख्यो ।
पुस महिनाको बिहानको दिन थियो । होटेलको आँगनमा पारिलो घाम ताप्दै चिया पिइरहेका ३/४ जना युवा थिए ।
‘हो, नेताहरुले !’ पवनले समर्थन गर्दै कुरा थप्यो ।
‘नेताहरु मात्र पनि होइन !’
‘नेता मात्र नभए अरुको हो त ? भ्रष्ट कर्मचारीहरु !’
‘उनीहरु मात्र पनि हैन !’
‘अनि को ? अविवेकी जनता ?’
‘जनता मात्र पनि हैन !’
‘त्यसो भए पार्टीको अन्धभक्त झोले कार्यकर्ताहरु ?’
‘तिनीहरु मात्र पनि हैन !’
‘अनि को हो त ?’
‘तिनीहरु कोही हाम्रो गाउँटोलमा, सहरबजारमा, जागिरदार छन्, स्वतन्त्र व्यवसायी छन् । तिनीहरु कोही सत्ताको रापमा छन्, कोही सत्ताको तापको आशमा छन् ।’
‘को हुन त तिनीहरु ?’
‘देश जल्दा आफ्नो बौद्धिकता बन्धक राखी पर्दापछाडि मौन बसेर आगोको रापमा न्यानो मानिरहने बौद्धिक वर्ग नै प्रमुख जिम्मेवार हुन् । तिनीहरु कोही सल्लाहकार पनि छन् ।’


