नन्दलाल आचार्य
नौ माससम्म पेटमा कुप्रिएर बसेँ । आमाले जे खाइन्, त्यही पाएँ । रातोदिन काममा जोतिँदा, मैले पनि गाह्रोसाह्रो अनुभूत गरेँ । चुरोटबिँडीको धुवाँलेभित्रभित्रै निसासिएँ । आमा हाँस्दा, मुस्कुराइदिएँ, रूँदा अनुहार बिगारेँ । उमङ्गले फ़ुरुङ्ग हुँदा, बेस्कन छाती ठुलो पारेँ । निराश अनुहार लगाएर पश्चात्ताप जल्दा भने त्यही मन खुम्च्याएर सानो पारेँ ।
आमा निदाउँदा निदाएँ । आमा जाग्दा चनाखो भएर तमासा हेर्दो भएँ । चुपचाप लागेका बेला ध्यानमा सक्रिय हुँदो भएँ । आमाले खाँदा खाएँ । भोकै बस्दा उपवास बसेँ । यति बिघ्न कष्ट सहेर वात्सल्य प्रेमको स्वाद चखाउने आमालाई जन्मनेबित्तिकै परिचयहीन पारेँ ।
र, सोधेँ– ‘आमा ! मेरो बाउ को हो ? म कसको हाँगाबिँगा हुँ ? मेरो काम र धाम के हो ? मैले कसरी तिम्रो समाजमा समायोजित हुनू ? समग्रमा आमा, म को हुँ ?’
मेरा प्रश्नका घोचाले उनी सकसमा परिन् वा परिनन् तर कुरा लुकाएर चलाखीसाथ भनिदिइन्– ‘तेरो बाउ विष्णुप्रसाद आचार्य हो । तँ आचार्य खलकको हाँगाबिँगा होस् । यो समाज मेरो होइन, तेरै बाउको हो । जसरी म समाजमा समायोजित हुन कोसिस गर्दै छु, त्यसरी नै तँ पनि समाजसँग जुध्नुपर्छ । मलाई अविश्वासको नजरले हेरे पनि तँलाई अँगालो हाल्न समाज आतुर छ । बाबु, आफूले आफैलाई चिन्न र चिनाउन सक्नुपर्छ । हामी त सहयोगी मात्रै हौँ, आफूलाई चिन्न र जान्न आफ्नै जीवनसँग सङ्घर्ष गर्दै जा, एकदिन अवश्य तङ्खवबोध गर्न पाउने छस् ।’
धेरैपछि चाल पाएँ। मेरी आमा रहिछन्, खोटाङ, मुलाबारीका लम्सालकी छोरी । त्यति खेर उनको नाम रहेछ, भगवती ! म जन्मनासाथ उनको परिचय मेटिएछ । र, उनी बनिछन्– भगवती आचार्य ! मेरा बाबुको परिचय र पहिचानसँग उनको फुटेको कौडीको पनि नातो रहेनछ । उनले समाज र संस्कार एक साथ छाडेकी रहिछन् । र, उनले नै जन्माएका हामी सन्तानलाई समेत आफू रहेको र बाँचेको समाज र संस्कारमा रहन र समाहित हुन कर गर्दिरहिछन् ।
उनलाई त्यसैमा सन्तोष रहेछ । उनकी आमा र हजुरआमाहरुले मात्रै नभएर वरपर देखेका, जानेका र सुनेका नारीहरु एकै किसिमले जन्मघर र संस्कारबाट टाढिँदै आएका रहेछन् । सबैले मानिल्याएको कुरो मान्नैपर्यो भनी प्रश्नहीन बनेर समाजले देखाएको बाटो हिँडेकी रहिछन् ।