• सुनिता निरौला पौडेल

‘नेपाल बसेर के गर्नु ? पढाइ भए पनि राम्रो काम पाइन्न । म त जान्छु होला विदेशतिर ।’ रामले दिक्क मान्दै श्यामलाई भन्यो ।
‘आ…, के कुरा गर्छौ साथी, यहीँ बसेर राजनीति गरौँ न । मालामाल छ राजनीतिमा ! किन विदेश जानु ?’ श्यामले रामलाई सम्झायो ।
अलिक दिनपछि राम विदेश गयो । श्याम राजनीतिमा लाग्यो । हेर्दाहेर्दै मन्त्री भयो । अकुत पैसा कमायो । केही महिनापछि रामसँग फोनमा कुराकानी भयो, ‘अरे राम ! नेपाल आऊ न यार ! म तिमीलाई राजनीति गर्न सिकाइदिन्छु । जान्यो भने मालामाल छ राजनीतिमा ।’
‘ओहो ! हो र भन्या ? त्यसो भए त म तुरून्तै आउँछु । यहाँ घडीको सुईको चालमा काम गर्नुपर्छ । त्यहाँ गफ लडाएरै पैसा कमाइन्छ भने आइहालेँ ।’
राम विदेशबाट स्वदेश फर्कियो । दुवै जना राजनीतिमा लिप्त भए । राजनीति उनीहरुलाई चिट्ठा परे जस्तो भयो ।
एकदिन उनीहरुको भेट भयो ।
रामले भन्यो, ‘हो रहेछ श्याम ! तिमीले गर्दा मैले पनि करोडौँ कमाएँ । धन्य रहेछ राजनीति तर… !’
‘के तर ! स्पष्ट भन न ।’ गम्भीर हुँदै श्यामले भन्यो ।
‘के यसरी कमाएको धन सजिलै पचाउन सकिएला ?’

 

Facebook Comments Box

Similar Posts