गङ्गा खड्का
‘साहुजी ! यति स्याउ जोखिदिनुहोस् न ।’ कमलले झोलामा राखेको स्याउ जोख्न दिए ।
साहुजीले स्याउ जोखे र क्याल्कुलेटर थिचे ।
‘कति भएछ साहुजी ?’ कमलले सोधे ।
‘जम्मा ४५० ।’ साहुजीले छोटो उत्तर दिए ।
‘जाबो चारओटा स्याउको ४५० ? होस् म त लैजान्नँ ।’ कमलले उचालेको स्याउको झोला थपक्क भुइँमा राखे ।
साहुजीले अनुहार बिगार्दै भने, ‘सित्तैमा त कहाँ पाइन्छ त ? पैसाको लोभ लाग्ने मान्छेले किन फलफूल खानुपर्यो त ?’
कमलले भद्र हुँदै भने, ‘त्यसो होइन । गाउँमा १०० रूपियाँ के.जी.मा स्याउ बेचेर पठाउने बानी परेको मलाई काठमाडौँमा आएर त्यही स्याउ ४५० मा किन्नुपर्यो । त्यसैले हामी उत्पादक र उपभोक्ता कति मर्कामा रहेछौँ भन्ने कुराप्रति असन्तुष्टि भयो । यसैले लिन मन लागेन ।’


