सुशान्त केसी ‘अभिशान्त’
(दक्षिणकाली २)
श्रीअन्तु डाँडाको टुप्पोमा उभिएर
एकै छिन निरीक्षण गरी हेरेँ
दूर क्षितिजबाट
उदाउँदै गरेको रविको मनोरम दृश्य
बिर्सिएर एक छिन
आफ्नै अस्ताउँदै गरेको जिन्दगी !
रातभर हिउँको च्यादर ओढेर निदाएको
कञ्चनजङ्घा पनि
बिहानपख शिर ठाडो पार्दै
बिहानीको झुल्के घाम ताप्छ र
पहेँलो हाँंसो हाँस्छ
उति बेला मन पर्यटक भई
त्यै स्वर्णिम हाँसोमा डुबुल्की मार्छ
त्यति बेला लाग्छ सायद
जिन्दगीको गतिशीलता नै हो पर्यटन !
जब मनभित्र वेदना जमेर दह बन्छ
र परावर्तित हुन्छ
छाडिजाने प्रियसीको
सङ्लो आकृति आँखाकोनानी भरि
जसरी
फेवातालको आँगनमा
माछापुच्छ्रे दिनभर डुबुल्की मार्छ
उसै बतासको सुस्त सुस्त बहावमा
उठेको लहरमा
धूमिल धूमिल हुँदै जान्छ
माछापुच्छ्रेको सङ्लो आकृति
र फेरि एकाबिहानै तालबाराहीको
आँगनमा मुस्कुराउँछ
माछापुच्छ्रेको छाया
मनको आँगनमा मुस्कुराएझैँ
जिन्दगीको नवीन रहर !
लाग्छ !
सुख र दुःखको गतिशीलता हो पर्यटन
कतिपटक पुगेँ हुलाँं
खै केबाट मुक्त हुन
मुक्तिनाथ !
जहाँ पोखिएको थियो रे
एक थोपा अमृत !
हिउँले खाएको मरूस्थलबिच
खै कसरी बाँचिरहेछ
हरियोपन !
शालिग्राम पखाल्दै
बगिरहेको कालीगण्डकीको
कागबेनीको दोभानमा
मान्छे तर्पण दिइरहेछन्
मृतात्माको मुक्तिका लागि
खोइ कुन विश्वास बाँचिरहेछ
मान्छेको अन्तस्करणबिच
कुन आस्थाको दियो
बलिरहेछ अजर !
लाग्छ ! आस्थावान् मानिसहरुको
गतिशीलता नै हो पर्यटन !


