महेशराज खरेल
(कोटेश्वर, काठमाडौँ)
म दृष्टिले एकलव्य भएर
तिम्रो आगमनको प्रतीक्षामा
प्यासी मनका तिर्खा मेट्न
शीतका थोपाहरु सँगाल्दै
चुकझैँ औँसीको रातमा
एक झिल्को उज्यालो
टिलपिलाइरहेको मनको
ध्रुवताराझैँ अटल बनी
पर क्षितिजमा
कुरी बसेँ तिमीलाई मनभरि
कहीँ झुल्किन्छौ कि तिमी भनी ।
म मानचित्र बोकेर
ब्रह्माण्डको
रेखा रेखा पहिल्याउँदै
भूगोलको
शिरमाथि विराट् आकाश ओढेर
छातीभरि धरतीको
उचाइ नाप्दै हिमालमा
गहिराइ डुब्दै समुद्रमा
खोज्दै हिँडेँ तिमीलाई
छिचोल्दै इतिहासका
हरेक घुम्ती र मोडहरु
तिमीमै अर्पित गरेर
जिन्दगी मेरो
बिच्छ्याइदिएँ तिमीमा
भरेर दिल आज भरोसाको ।
मेरो चाहना वा अपेक्षा
मैले देखेको जिन्दगीको नक्साभित्र
शीतले कठ्याङ्ग्रिएर काँपिरहेको
थोत्रो पाखीले हिमाली हिउँको
चिसो हावा छेकिरहेको
लेकाली भेँडीगोठालोको
जीर्ण शरीरलाई न्यानो बनाउन
असीम आग्रहसाथ पुकारिहेछु म तिमीलाई
सुसाइतमै आइदिन्छौ कि तिमी भनी ।
कहीँ कतै खोँच, खोल्सा र
अनकण्टार पहाडका भित्ताभरि
तरतरी चुहिएका पसिना निधारभरि
पुछिरहेको भरिया भाइको
झेलिरहेका कष्टपूर्ण जिन्दगीको
पसिना पुछिदिन्छौ कि तिमी भनी ।
धरतीको छातीभरि
जीवनरेखाहरु कोरेर
अरुको जीवन बचाउन
साँझबिहान
हिउँदवर्षा नभनी
अहोरात्र खटिरहेको
दुःखी त्यो हली दाइको
नीरस जीवनगाथाको
रक्षक बनिदिन्छौ कि तिमी ।
विशद नेपाली जीवनका
भित्री पाटोमा
कहीँ अभिशप्त विषाक्त
बनाइएका वा जनाइएका
मिजार कान्छो र
आरने माइलासमेतको
जीवनगाथा नियाल्दा
देखिएको औँसीझैँ अँध्यारो
मनको भित्तामा
आँँखीझ्याल भएर
चियाइरहेँ मैले
सानो झिल्का किरणको उज्यालो बनी
छाइदिन्छौ कि ? तिमी भनी ।
ढिँडो ओडाल्न सिस्नो र
पिठो खोजिरहेकी
सुखिमिनी कमेनाको व्यथा
जाडामा टालेर कहिल्यै
टाल्न नसकिने
जडौरी टालिरहेकी
भर्सेली दमेनाको कथा
सिपी र गँगटा खोजेर
जीवनको छाक टार्न
भररात चिसामा चिसिएका
सोझनी बातर्नी र
मन्डुली सतार्नीका
जीवित यथार्थता
भित्र कहीँ कतै लुकेको वेदनामय कथा
लेखाउन खोजिरहेँ मैले तिमीबाट
जूनझैँ उज्यालो तिम्रो मनको प्रकाशमा
उन्मुक्तिको एउटा साझा सन्देश
लेखिदिन्छौ कि तिमी भनी ।
बुढेसकालमा आफ्नै पितृलाई
एक्लो पारी
विदेशी भूमिमा पसिना बगाउने
विवश युवा नेपाली
सुखद सपना कल्पेर मनले
बैँसको एक्लोपन जिइरहेकी
नवयौवना चेलीको अतृप्त तृष्णा
आउँछन् छोडी गएका खसम भनी
हरक्षण हरपल पर्खिरहेकी ।
काखे बालकको सिङ्गो भविष्यसहित
सबै सबै भरोसा मेटाएर
कोरा वस्त्रभित्र लपेटिएर
काठको बाकसमा फर्किंदा
विक्षिप्त जीवनको
कहर झेल्न
आफ्नै देशमा उद्यान खोली
आत्मनिर्भरको एउटा रोजगारी
दिन सकिने सपना बोकी
लामो पर्खाइ पर्खिबसेँ म
समाधानको
एक झिल्को उज्यालो हेर्न
कैयौँचोटि झुक्किँदै
अनि फेरि आशाको दियालो बाली पर्खंदै
लामो कालरात्री यो पर्खाइको
छिचोलेर आइपुग्यौँ आज हामी यहाँ
अब त कुखुराको भाले पनि बासिसक्यो
हेर ! गाँउघरमा
मिरमिरे उज्यालो छाइसक्यो धरतीमा
अब उज्यालो छेकेर छेकिन्न
मूल्य र मान्यताको
तिमी झुल्क बिहानी सूर्यको
किरण हुँदै
यसपालि त नझुक्यइकन
साँच्चै लिएर आऊ
सुनौलो बिहानी भरोसाको
तिम्रा सजीव निष्ठावान् पाइलासँगै
मैले आशा बिच्छ्याएँ आकाङ्क्षा बोकेर तिमीमा
नयाँ बिहानी बनेर आइदिन्छौ कि ! तिमी भनी ।