साउन ६, काठमाडौं । पुस्तौँदेखि मौखिक परम्परामार्फत जीवित रहँदै आएको मुन्धुमको ज्ञान, जीवनदर्शन र सांस्कृतिक स्मृतिलाई आधुनिक रंगमञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित एक थिएटर नेपाल ले नयाँ नाट्य प्रस्तुति ‘केसामी नाक्सामी’ मञ्चन गर्ने भएको छ।
मुन्धुममा आधारित यस नाटकले परम्परा र वर्तमानबीच अर्थपूर्ण संवाद स्थापित गर्दै मौलिक संस्कृति, इतिहास, प्रकृतिसँगको सम्बन्ध, मानवीय संवेदना तथा पहिचानका विविध आयामलाई रंगभाषामार्फत प्रस्तुत गर्ने प्रयास गरेको आयोजकले जनाएको छ। नेपाली रंगमञ्चमा आदिवासी ज्ञान–परम्परा र सांस्कृतिक दर्शनलाई समकालीन शैलीमा प्रस्तुत गर्ने यो प्रस्तुति दर्शकका लागि विशेष आकर्षण हुने अपेक्षा गरिएको छ।
नाटकको परिकल्पना तथा निर्देशन अनिल सुब्बाले गरेका छन् भने नाट्य रूपान्तरण यासेली योङ्हाङले गरेका छन्। यसैगरी, नाटकको पोस्टर डिजाइन सबिन लिङ्दम लिम्बू (Pyatuu) ले तयार गरेका हुन्।
नाटक साउन १८ गतेदेखि भाद्र १३ गतेसम्म मञ्चन हुनेछ। प्रत्येक दिन बेलुका ५:३० बजे (बुधबार बाहेक) नियमित प्रदर्शन हुनेछ भने हरेक शनिबार दिउँसो १:३० बजे अतिरिक्त प्रदर्शन पनि गरिनेछ।
आयोजकले मुन्धुमको सांस्कृतिक, दार्शनिक र ऐतिहासिक पक्षलाई नयाँ दृष्टिकोणबाट अनुभूति गर्न इच्छुक सम्पूर्ण दर्शकलाई यस विशेष नाट्य प्रस्तुतिमा सहभागी हुन हार्दिक निमन्त्रणा समेत गरेको छ।


