काठमाडौं, श्रावण १७- वर्तमान कविता समूह र नेपाली लोक बाजा सङ्ग्रहालयको संयुक्त आयोजनामा ‘धार्मिक सहिष्णुता र वर्तमान कविता’ विषयक विशेष साहित्यिक कार्यक्रम शनिबार काठमाडौंमा सम्पन्न भएको छ।
लक्ष्मेश्वर मन्दिर परिसरस्थित नेपाली लोक बाजा सङ्ग्रहालयमा आयोजित कार्यक्रममा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, मानवता तथा समकालीन यथार्थलाई केन्द्रमा राखेर कविता वाचन, विचार–विमर्श र सांगीतिक प्रस्तुति गरिएको थियो। कार्यक्रममा सहभागी कविहरूले धर्म, मानवता, सहअस्तित्व, सामाजिक उत्तरदायित्व र समकालीन समाजका विविध पक्षलाई आफ्नो सिर्जनामार्फत प्रस्तुत गरेका थिए।
कार्यक्रममा अभय श्रेष्ठले ‘भिक्षुणी र रोगी युवक’, हरिहर तिमिल्सिनाले ‘मलाई थाहा भएको कुरा’, विश्व सिग्देलले ‘म एक थोक बनिनँ’, रजनीमिलाले ‘आफूभित्रको ईश्वरलाई जगाऊ’, रामगोपाल आशुतोषले ‘आगोलाई आगो हुन कसैको जरुरी हुँदैन’, राधिका कल्पितले ‘मार्ग अनेक, गन्तव्य एक’, रमी प्रियाले ‘मानिस र धर्म’, प्रज्वल अधिकारीले ‘खेलौना’, ईश्वरा शिवाले ‘ईश्वरको हिसाब’, चाचु ढुङ्गानाले ‘नारा’, विणा नेम्कुलले ‘सुन्दर बस्ती’, चन्द्रबहादुर लामाले ‘सहिष्णुताको शाश्वत नियम’, तीर्थराज भट्टले ‘के हामी पुनः बुद्ध बन्न सक्छौँ ?’, प्रमोद स्नेहीले ‘धर्मयुद्ध’ तथा दीपक चौलागाईंले ‘मानिसको खोजी’ शीर्षकका कविता वाचन गरेका थिए।
वाचन गरिएका कविताहरूले धार्मिक सहिष्णुता, सामाजिक उत्तरदायित्व, मानवीय संवेदना, सहअस्तित्व र समकालीन जीवनका चुनौतीहरूलाई गहिरो रूपमा अभिव्यक्त गर्दै समाजमा आपसी सम्मान, संवाद र शान्तिको सन्देश प्रवाह गरेका थिए।
कार्यक्रमको सांगीतिक सत्रमा प्रसिद्ध गायक तथा संगीतकार शिशिर योगीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित रचना ‘दमाई दाइ’ लगायतका गीत प्रस्तुत गरेका थिए।


