डा. ब्योङ चियोल काङ
(दक्षिण कोरिया)
अनुवाद: चन्द्र गुरूङ

संसार डुलिसकेपछि
म अब पोल्यान्डको भोजपत्रको जङ्गलमा
हिउँ झरिरहेको हेर्छु ।

आफ्नो घर छोड्ने हरेक मनले
चाहना गर्छ आफू एकपटक बसेको भूमिको
पछाडि छोडिएको जङ्गली फूलहरुको अल्झिरहने सुगन्ध
र प्रिय आवाजको हाँसो ।

म मात्रै जेजुको घामलाई सम्झिन्छु
घामको प्रकाशभन्दा बहुमूल्य कुनै उपहार छैन ।
जेजुमा शरद ऋतुको घाम
आँखै तिरमिराउने सुन्दर हुन्छ
तिमीले कहिल्यै थाहा पाउने छैनौ
म घामलाई कति धेरै माया गर्छु ।

खैरो आकाशमुनि उभिएर
पोल्यान्डको भोजपत्रको जङ्गलमा हिउँ झरेको हेर्दै
यस दिव्य र सुन्दर जङ्गलमा
म घामको न्यानोपनको चाहना गर्छु ।

हिउँका टुक्राहरु अन्तहीन खस्छन्
थुप्रिन्छन् हिउँले ढाकिएका भोजपत्रका रूखहरुमा
जसरी मेरो हृदयमा
चुपचाप थन्किन्छन् चाहनाहरु ।

Facebook Comments Box

Similar Posts