रजनीमिला
पहाडका कान्लाहरुलाई कोपार्दै
ढिस्काहरु झारे
ढिस्काहरुसँगै रूखहरु ढले
पात पतिङ्गर सुके,
चराहरु उडिगए ।
बिछोडिएका छन् माटाका हरेक ढिस्कासँगै
जीवनका सुन्दर बुट्टाहरु
हावाका स्वतन्त्र लयहरु !
आँगनमा गुन्जिरहने चराहरुका निनादहरु
हो
म आफ्ना पाखुरामा तेल मालिस गरी
अन्नका बाला झुलाउँथेँ फाँटभरि
मेरा हरिया फाँट बलात खोसेर
मलिला माटोमाथि
तातो अलकत्राका पत्रहरु बिछ्याउँदै,
फलामे सहर ठड्याउँदै
आधुनिकताको माला जप्दै
विकासे भजन गाउन थालेदेखिन्
माटोको सुगन्ध उडिगयो ।
कहाँ कहाँबाट झरे कुन्नि
यो खाल्टोमा मान्छेहरु
हरेक दिन
मच्छिन्द्रनाथको जात्राझैँ लस्करैलस्कर
जहाँ
कुनै समय
विरहको धुन गुन्गुनाउँदै सुनसान ठाउँमा
एक्लो फल्चा बटुवा कुर्दै बस्थ्यो ।
यो बेला अटेसमटेस लाग्छ फल्चालाई
लस्करमा च्यापिएको मान्छेको सास र पसिना मिश्रित गन्धले
जो सभ्य बन्न
दिनहुँ आफूलाई पखाल्छन्,
चोक, गल्ली र सडक नुहाउँछन्,
मन्दिर धोइदिन्छन्,
तिनैका खातका खात मैला
बगेर मिसिएपछि
सभ्यताको रङ जोगाउँदाजोगाउँदै
नदीहरुको रङ उडिगयो ।
गगनतिर हेर्छु,
निलो क्यानभास छोपिएको छ
धुलोका बाक्ला पर्दाहरुले
फूलका गुच्छाजस्ता बादलका छिद्रहरुबाट
निस्किने घामका छेस्काछेस्कीहरु हराए
हराएका छन् मुजा मुजा बान्की परेका
जूनका परेलीहरु
सिँढी जस्तै उकालो लागिरहेको धुवाँभित्र ।
यो संसारमा
मानवतामा डढेलो लगाएको दिनदेखि,
कलकारखाना र मोटरकारले
सास फेर्न थालेदेखि
हावाको सुगन्ध उडिगयो ।


