रमेश प्रभात
(चितवन)
हिजो बगर चहार्दैथ्यो पाँगो बोकेर,
आज बस्ती छिरेको छ आगो बोकेर ।
पानी छैन, घना बस्ती तिर्खाएको देख्छु,
उता पहाड एक्लै रून्छ छाँगो बोकेर ।
डढेलोले खायो कठै कलिलो त्यो मुना,
चौतारीको पीपल हाँस्यो हाँगो बोकेर ।
फेरि पनि भोट माग्न आयौ भने गाउँ,
गाउँले सब जागेका छन् टाँगो बोकेर ।
प्रभातमै छुट्टिएका मुटुहरु जोड्न,
राजधानी पस्यो कोही धागो बोकेर ।