कार्तिक २७, ललितपुर । याक्थुङ (लिम्बू) जातिको धार्मिक तथा सांस्कृतिक ग्रन्थ मुन्धुममा प्रयोग हुने विशिष्ट शब्द, तिनको अर्थ र भाषिक विशेषता समेटिएको ‘याक्थुङ साम्जिक मुन्धुम शब्दकोश’ सार्वजनिक भएको छ। मुन्धुमी ज्ञान, भाषा र सांस्कृतिक सम्पदाको संरक्षण तथा अभिलेखीकरण गर्ने उद्देश्यले तयार पारिएको उक्त शब्दकोश शुक्रबार ललितपुरको तिखेदेवलस्थित सयल वाटिकामा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो।

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा मुन्धुमविद् बैरागी काइँलाले प्रमुख अतिथिका रूपमा पुस्तक सार्वजनिक गरेका हुन्।

कार्यक्रममा शब्दकोशका लेखक तथा संकलक डी. बी. आङबुङले पुस्तकको विषयवस्तु, संकलन प्रक्रिया र महत्वबारे प्रकाश पारेका थिए। अर्का लेखक विष्णुदत्त आङ्बुहाङले याक्थुङ समुदायको मुन्धुममा प्रयोग हुँदै आएका विशिष्ट शब्दहरूको संरक्षण, अर्थको पहिचान र भावी पुस्तामा हस्तान्तरणका लागि शब्दकोश तयार गर्नु आवश्यक भएको विषयमा चर्चा गरेका थिए। त्यसैगरी, शब्दकोशका प्रकाशन संयोजक इतिहासका अध्येता तथा मदन पुरस्कार विजेताभगिराज इङनामले समेत कृति माथि आफ्नो धारणा राखेका थिए।

कार्यक्रममा प्राध्यापक बालकृष्ण माबुहाङ, मुन्धुम तथा लिम्बू भाषाका स्रष्टा येहाङ लावती, नेपाल प्रहरीका पूर्वमहानिरीक्षक कुबेरसिंह खापुङ, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका कार्यवाहक प्रमुख राम मादेन तथा नेपाली सेनाका पूर्वरथी अनन्त थेबे, किरात याक्थुङ चुम्लुङका पूर्वअध्यक्ष अर्जुन नुगो लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

लिम्बू, नेपाली र अंग्रेजी गरी तीन भाषामा तयार गरिएको ४२० पृष्ठको शब्दकोशमा एक हजार पाँच सयभन्दा बढी शब्द समेटिएका छन्। पुस्तकमा सिरिजङ्गा, देवनागरी र रोमन गरी तीनवटा लिपि प्रयोग गरिएको छ।

याक्थुङ समुदायको मौलिक भाषिक ज्ञान, मुन्धुमी दर्शन, संस्कार र सांस्कृतिक पहिचानको संरक्षण तथा अध्ययन अनुसन्धानमा यस शब्दकोशले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। पुस्तकको मूल्य दुई हजार रुपैयाँ निर्धारण गरिएको छ।

Facebook Comments Box

Similar Posts