कार्तिक २, काठमाडौं । कवि तथा निबन्धकार प्रकाश थाम्सुहाङको निबन्धसंग्रह ‘शब्दथुम’ सार्वजनिक भएको छ । काठमाडौंमा मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, समीक्षक राजकुमार बानियाँ, निबन्धकारद्वय रोशन शेरचन र कुमारी लामाले पुस्तक विमोचन गरे ।पूर्वकुलपति काइँलाले थाम्सुहाङले १७ थुम नलेखेर किन शब्दथुम लेखे भनेर आफूलाई जिज्ञासा लागेको भन्दै ठट्टा गरे । अरुणपूर्व र मेचीवारि पहिल्यै १७ थुम थिए, तिनै थुमबाट शासन–प्रशासन सञ्चालन हुन्थे । ‘शब्द भनेकै ब्रह्म र ब्रह्म भनेकै शब्द हुन्,’ उनले भने, ‘थुम भनेको लिम्बूमा कडा वा अप्ठेरो भन्ने हुन्छ । शब्दथुम शब्दको ब्रह्म जस्तो पो लाग्यो ।’ लेखकले बुबा ‘लुङ्माहिम साइँला’ का बारेमा मोहक निबन्ध लेखेको काइँलाले बताए । ‘गद्य लेखनमा थाम्सुहाङको सामर्थ्यको अनुमान गर्न सक्छौं,’ उनले भने, ‘गद्य शैली मिठो र लोभलाग्दो छ । लेखकले दर्शन र चिन्तनमा आफ्नो मत जाहेर गरेका छन् ।’ निबन्धको भाषा सहज र गहकिलो भएकाले पाठकलाई पढ्न सजिलो हुने उनले बताए । सानो प्रयासलाई कसैले नगन्ने समयमा लेखकले सानो ठाउँबाट उठेका सांस्कृतिक आन्दोलनलाई लेखेकामा उनले प्रशंसा गरे ।
समीक्षक बानियाँले एक सय कवि जन्मिँदा एउटा निबन्धकार जन्मन पनि गाह्रो हुने समयमा शब्दथुम आउनु स्वागतयोग्य रहेको बताए । ‘निबन्ध आरक्षित विधाजस्तो देखिन्छ,’ उनले भने, ‘धेरैजसो निबन्धमा ज्ञान कम तर यात्रा टिपोट बढी हुन्छ । तिनले मिडियाले झैं सूचना बेचिराखेका छन् ।’ साहित्य र राजनीतिलाई एउटै घानमा हाल्ने चलन राम्रो नभएको उनको भनाइ थियो । कविले लेखेकाले शब्दथुममा काव्यको सुवास पाइने बानियाँले बताए ।
निबन्धकार शेरचनले थाम्सुहाङका निबन्धमा साहित्यिक वैचारिक चिन्तन पाइने बताए । ‘निबन्धमा विचारमा प्रस्टता, सहिष्णु र सहअस्तित्वमा जोड दिइएको छ,’ उनले भने, ‘पहिचानका मुद्दा र जराको खोजीमा अग्रसर लेखक पहिलो निबन्धबाटै स्थापित भएका छन् ।’ सरल भाषामा लेखिएको निबन्ध पाठकका लागि बोधगम्य रहेको उनको भनाइ थियो ।निबन्धकार लामाले थाम्सुहाङलाई पूर्णकालीन साहित्यिक कार्यकर्ता भन्दा फरक नपर्ने बताइन् । रैथाने ज्ञान, पहिचान र सांस्कृतिक आन्दोलनको पक्षधरता बोकेका लेखकका निबन्धमा छिप्पिएको वैचारिकता पाइने उनको भनाइ थियो । व्यक्तिबिम्ब खण्डभित्र समेटिएका निबन्धमा अग्रज लेखकको व्यक्तित्वसँगै समाज–इतिहासको उत्खनन पनि पाइने उनले बताइन् । ‘इतिहास केन्द्रीकरणको भञ्जनका रूपमा पात्रहरू आएका छन्,’ उनले भनिन्, ‘अग्रजहरूको प्रभाव ग्रहण गरेर लेखकले आफूलाई निखारेका छन् ।’ इतिहास पुनर्यात्राको काम व्यक्तिबिम्ब लेखनले गर्ने लामाले बताइन् ।
निबन्धमा महिला पात्रले स्थान नपाएको भन्दै उनले तिनलाई समेटिएको भए समाज इतिहासको फरक कोण आउन सक्ने बताइन् । निबन्धमा रैथानेपनसँगै ठेट भाषा समेटिएको उनको भनाइ थियो ।
लेखक थाम्सुहाङले १७ वर्षपछि दोस्रो कृतिका रूपमा शब्दथुम आएको बताए । ‘सपना लिम्बू भाषामा देख्छु, बोल्छु नेपाली, कलेजमा अंग्रेजी पढें,’ उनले भने, ‘यसले नेपाली भाषामा पकड कमजोर त छैन भनेर डर लागिरहन्थ्यो ।’ कुनै पनि पुस्तकले मानव समाजलाई थोरै भए पनि अंशदान गर्नुपर्छ भन्ने लागेरै यो निबन्ध आएको उनको भनाइ थियो । २०६३ सालमा कवितासंग्रह ‘पालामको मूर्च्छना’ प्रकाशन गरेका थाम्सुहाङको दोस्रो पुस्तक शब्दथुमलाई इन्डिगो इन्कले प्रकाशन गरेको हो ।