कार्तिक २, काठमाडौं । कवि तथा निबन्धकार प्रकाश थाम्सुहाङको निबन्धसंग्रह ‘शब्दथुम’ सार्वजनिक भएको छ । काठमाडौंमा मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, समीक्षक राजकुमार बानियाँ, निबन्धकारद्वय रोशन शेरचन र कुमारी लामाले पुस्तक विमोचन गरे ।
पूर्वकुलपति काइँलाले थाम्सुहाङले १७ थुम नलेखेर किन शब्दथुम लेखे भनेर आफूलाई जिज्ञासा लागेको भन्दै ठट्टा गरे । अरुणपूर्व र मेचीवारि पहिल्यै १७ थुम थिए, तिनै थुमबाट शासन–प्रशासन सञ्चालन हुन्थे । ‘शब्द भनेकै ब्रह्म र ब्रह्म भनेकै शब्द हुन्,’ उनले भने, ‘थुम भनेको लिम्बूमा कडा वा अप्ठेरो भन्ने हुन्छ । शब्दथुम शब्दको ब्रह्म जस्तो पो लाग्यो ।’ लेखकले बुबा ‘लुङ्माहिम साइँला’ का बारेमा मोहक निबन्ध लेखेको काइँलाले बताए । ‘गद्य लेखनमा थाम्सुहाङको सामर्थ्यको अनुमान गर्न सक्छौं,’ उनले भने, ‘गद्य शैली मिठो र लोभलाग्दो छ । लेखकले दर्शन र चिन्तनमा आफ्नो मत जाहेर गरेका छन् ।’ निबन्धको भाषा सहज र गहकिलो भएकाले पाठकलाई पढ्न सजिलो हुने उनले बताए । सानो प्रयासलाई कसैले नगन्ने समयमा लेखकले सानो ठाउँबाट उठेका सांस्कृतिक आन्दोलनलाई लेखेकामा उनले प्रशंसा गरे ।
समीक्षक बानियाँले एक सय कवि जन्मिँदा एउटा निबन्धकार जन्मन पनि गाह्रो हुने समयमा शब्दथुम आउनु स्वागतयोग्य रहेको बताए । ‘निबन्ध आरक्षित विधाजस्तो देखिन्छ,’ उनले भने, ‘धेरैजसो निबन्धमा ज्ञान कम तर यात्रा टिपोट बढी हुन्छ । तिनले मिडियाले झैं सूचना बेचिराखेका छन् ।’ साहित्य र राजनीतिलाई एउटै घानमा हाल्ने चलन राम्रो नभएको उनको भनाइ थियो । कविले लेखेकाले शब्दथुममा काव्यको सुवास पाइने बानियाँले बताए ।
निबन्धकार शेरचनले थाम्सुहाङका निबन्धमा साहित्यिक वैचारिक चिन्तन पाइने बताए । ‘निबन्धमा विचारमा प्रस्टता, सहिष्णु र सहअस्तित्वमा जोड दिइएको छ,’ उनले भने, ‘पहिचानका मुद्दा र जराको खोजीमा अग्रसर लेखक पहिलो निबन्धबाटै स्थापित भएका छन् ।’ सरल भाषामा लेखिएको निबन्ध पाठकका लागि बोधगम्य रहेको उनको भनाइ थियो ।
निबन्धकार लामाले थाम्सुहाङलाई पूर्णकालीन साहित्यिक कार्यकर्ता भन्दा फरक नपर्ने बताइन् । रैथाने ज्ञान, पहिचान र सांस्कृतिक आन्दोलनको पक्षधरता बोकेका लेखकका निबन्धमा छिप्पिएको वैचारिकता पाइने उनको भनाइ थियो । व्यक्तिबिम्ब खण्डभित्र समेटिएका निबन्धमा अग्रज लेखकको व्यक्तित्वसँगै समाज–इतिहासको उत्खनन पनि पाइने उनले बताइन् । ‘इतिहास केन्द्रीकरणको भञ्जनका रूपमा पात्रहरू आएका छन्,’ उनले भनिन्, ‘अग्रजहरूको प्रभाव ग्रहण गरेर लेखकले आफूलाई निखारेका छन् ।’ इतिहास पुनर्यात्राको काम व्यक्तिबिम्ब लेखनले गर्ने लामाले बताइन् ।
निबन्धमा महिला पात्रले स्थान नपाएको भन्दै उनले तिनलाई समेटिएको भए समाज इतिहासको फरक कोण आउन सक्ने बताइन् । निबन्धमा रैथानेपनसँगै ठेट भाषा समेटिएको उनको भनाइ थियो ।
लेखक थाम्सुहाङले १७ वर्षपछि दोस्रो कृतिका रूपमा शब्दथुम आएको बताए । ‘सपना लिम्बू भाषामा देख्छु, बोल्छु नेपाली, कलेजमा अंग्रेजी पढें,’ उनले भने, ‘यसले नेपाली भाषामा पकड कमजोर त छैन भनेर डर लागिरहन्थ्यो ।’ कुनै पनि पुस्तकले मानव समाजलाई थोरै भए पनि अंशदान गर्नुपर्छ भन्ने लागेरै यो निबन्ध आएको उनको भनाइ थियो । २०६३ सालमा कवितासंग्रह ‘पालामको मूर्च्छना’ प्रकाशन गरेका थाम्सुहाङको दोस्रो पुस्तक शब्दथुमलाई इन्डिगो इन्कले प्रकाशन गरेको हो ।


