पुस १४, काठमाडौं । शब्दाङकुर बुक एण्ड पब्लिकेशन र गोर्खा नेपाली कम्युनिटी(जि.एन.सी.)को संयुक्त आयोजनामा “सिर्जना संगम” कार्यक्रम हुने भएको छ । अष्ट्रेलियामा नेपाली कला र साहित्यको प्रबर्द्धन तथा नेपाली साहित्यकारहरूको योगदानको कदर गर्ने उद्देश्यका साथ आयोजना हुन गइरहेको कार्यक्रममा साहित्यकार एवं वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, साहित्यकार डा. विजय सुब्बा र भोगेन्द्र लिङदेन लगायत अन्य स्रष्टा एवं सर्जकहरुको सहभागिता रहने छ ।
“अष्ट्रेलियामा रहनुभएका साहित्य सम्बद्ध व्यक्तित्वहरुको सम्मानमा आयोजना हुन गइरहेको उक्त कार्यक्रममा पौडेल, सुब्बा र लिङ्देनले आ-आफ्ना साहित्य सिर्जनाहरु प्रस्तुत गर्नका साथै विचार आदानप्रदान गर्नु हुनेछ ।” आयोजक पब्लिकेशनका प्रकाश चन्द निङलेकुले बताए । “कार्यक्रममा अष्ट्रेलियामा रहेर संगीत कर्ममा साधनारत सुष्मा गुरुङको सांगीतिक प्रस्तुति रहने पनि छ ।” निङ्लेकुले थपे ।
अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायमा साहित्य, कला, संगीत सबैको साझा सम्पत्ति हो भन्ने भावनालाई थप सबल रुपमा अघि बढाउन कार्यक्रमको मुख्य उदेश्य रहेको आयोजकले बताएको छ ।
सन्तोष शर्माले संचालन गर्ने उक्त कार्यक्रम सिड्नी स्थित ग्रायनभिल डिगर्स क्लबमा आउँदो बर्षको जनवरी ६ शनिबारका दिन स्थानीय समय अनुसार दिउँसो २ बजे देखि ४ बजेसम्म सम्पन्न हुने आयोजकले जानकारी गराएको छ भने उपस्थितिका लागि सबैलाई आव्हान समेत गरेको छ ।