योगेन्द्र तिमिल्सिना
हेमन्त अनि शिशिर ऋतु
कहीँ हिमपात,
कहीँ भारी वर्षा
कठ्याङ्ग्रिएको लम्बेतान रात
चिसिएर खुम्चिएको दिन
अस्तव्यस्त जनजीवन ।
रात बल्ल कट्यो,
दिन कसरी काट्ने !
गरिबसँग न सोलार न हिटर
मात्र घामसँग छ गाढा प्रेम
हरेक दिन सूर्य वाचा गर्छन्,
म तिमीलाई न्यानो स्पर्श गर्ने छु
तर किन हिजोआज उनी टाढिएका छन् !
लुकी लुकी हिँड्छन्,
बाक्लो कुइरोको घुम्टो ओढी
न कोट न स्विटर न ज्याकेट न बाक्लो कम्बल
पुरानो एक अस्कोट र खाँडीका पुराना दौरासुरूवाल
शिरमा मैलो थोत्रो टोपी
कोदो, मकै, भटमास र फापरको छाक
कोठे बारीको साग, मुला, सिन्की, गुन्द्रुक र खुर्सानीका साथ
तातो खरानी र भुङ्ग्रोको राप ।
घाम, तिमी बादलभित्र नलुक
तिमी समानताका द्योतक हौ
असमानताभित्र समाजमा बाँचिरहेका हामी,
घाम, तिमी आफ्नो घुम्टो खोल,
हामीलाई स्पर्श गर र
हाम्रो आङ तताऊ
हाम्रा चिसिएका दिनहरुलाई तताऊ
हामीलाई तताऊ ।