– ठाकुर बेलवासे

अचानक भेटिएकी तिमीले भन्यौ
मलाई टाढा टाढा हिँड्नु छ
हिँड्ने बाटो देखाइदिनुहोस् न
मैले मेहनतले भेटेका
र दुःखले हिँडेका बाटाहरु देखाएँ

तिमीले ती बाटा नै माग्यौ
मैले आफ्ना खुट्टामा जोगाएर राखेका
सबै बाटाहरु दिएँ

तेस्रो भेटमा अझ नजिक भएर भन्यौ
अपरिचित बाटोमा हिँड्न डर लाग्छ
मलाई तपाईंको आँट दिनुहोस् न
आमाले भरिदिएको मनभरिको आँट तिमीलाई दिएँ
र आँटैले संसार जितेकाहरुको
इतिहास पनि सुनाए

अर्को भेटमा आत्मीय बनेर भन्यौ
मलाई हाँस्न रहर छ
तपाईंको हाँसो दिनुहोस् न
म पनि अरु मान्छेजस्तै हाँस्छु

बाले हाँस्न सिकाएका ओठबाट
सम्पूर्ण हाँसो झिकेर तिमीलाई दिएँ

एउटा जीवनलाई चाहिने
बाटो, आँट र हाँसो मात्रै हो

बाटो, आँट र हाँसो भेटेपछि
तिमी वनकुखुरोजस्तो जङ्गल पस्यौ
जङ्गल मान्छेको पनि हुन्छ
हिंस्रक जनावरपन
मान्छेमा पनि हुन्छ

यतिबेला सम्झिरहेको छु
तिमी रहरहरुको जङ्गलमै हरायौ कि
आँटले नयाँ नयाँ बाटो हिँड्दै हाँसिरहेकी छौ

अझ बढी सम्झिएको छु
तिमीलाई मैले दिएका
पहिरोमा पनि पैताला अडाइदिने
ती बाटाहरु
आँधीहुरीसँग जुध्न सक्ने
ती आँटहरु
अनि परेलीलाई सधैँ हँसाइरहने
ती हाँसोहरु ।

Facebook Comments Box

Similar Posts