विष्णु मरासिनी

तिमी जुन महलमा रमाइरहेका छौ
त्यो मेरा बाजेहरुको पसिनाले बनेको हो
अरे मेरो भवन र
तिम्रो बाजेको के सम्बन्ध
भनी झस्किन्छौ,
त्यसका हरेक कक्षमा
मेरा बाजेहरुको ध्वनि सुनिन्छ
तर तिमी बहिरो भएका छौ ।
टुँडिखेलअगाडिको
तिम्रो मोटर गुड्ने बाटोमा
मेरा बाजेहरुले चलाएको
गैँती र साबेलको डोब छ
तिमी रम्न निस्कने रानीपोखरीमा
मेरा बजैहरुको पसिनाको धारा छ
तिम्रा देवल र टुँडाल बनाउँदा
तिमो चाहानाअनुसारको
यो सहर सिँर्गादा
कति बजैहरु उमेरमा सिँगारिन पाएनन् ।
तिमीले पूजा गर्ने मन्दिरमा हेर
अनगिन्ती बाजेहरुको रगतले सिन्चिएको
सुसज्जित कला अनि प्रार्थाना छ,
फगत तिमी त धर्मको नाटक मात्रै गर्छौ,
बागमती किनारको आर्यघाटमा गएर सुन
पशुपतिको घण्टको ध्वनिमा
मेरा बाजेबजैको आवाज छ
तिनै आवाजहरुमा
आज तिमी आरती गर्दै छौ ।
साँच्चै तिम्रो सहर बनाउँदा
तिनका सपनाहरु गालामा पर्ने मुजासँगै
मुजा परेर सकिए
तर तिम्रो चाहना सकिएन
तिम्रो फर्माइस सकिएन
तिमीले लेख्न बिर्सेको
इतिहासको पाना पल्टाएर हेर
हरेक शब्द शब्दमा मेरा बाजेबजैको
रगत र पसिना देख्ने छौ ।
तिम्रो सहर सिँगार्न
म पनि घोटिदै छु
म पनि यहीँ विलीन हुने छु
त्यसैले ‘नि होला
मलाई तिम्रो सहरभन्दा
सपनाको सहर मन पर्छ

Facebook Comments Box

Similar Posts