सागर फुयाल
बर्लिन, जर्मनी ।
ए मान्छे !
किन यति चिसो तँ, तेरो व्यवहार?
यसरी कसरी बन्न सक्छ र
परिवेश तेरो अनुकूल?
कसरी फुल्न सक्छ र
तँभित्र मुस्कानको फूल?
कसरी फुट्न सक्छ र
तँभित्र करुणाको मूल?
ए मान्छे !
छोडिदे अब देख्न चिसा सपनाहरू
हिँड्न ओसिला बाटाहरू
साँच्न नरित्तिने तृष्णाहरू
फोरिदे अहङ्कार र
अभिमानले भरिएका
बिषका घैलाहरू !
ए मान्छे !
तँलाई थाहा छ?
खरानी भइसक्दा पनि
पुत्पुताउन छाड्दैनन् चिसा दाउराहरु
ती सकिन्छन् फगत धुवाँ बनेर
कहाँ भर्भराउन सक्छन् र
सबै दाउरा ज्वाला बनेर,
लप्का बनेर?


