डा. विश्वदीप अधिकारी
हरेकपटक फेरिएर
दोहरिएर आइरहेका ऋतुहरुलाई आफैमा विलीन गराएर
एकपटक राम्रैसँग नियाल्दा पो थाहा भयो
वास्तवमा अहिलेसम्म जीवन त भुमरीमा पो रहेछ
जब ऋतुहरु कतै नहराई आउँदै जाँदै गरिरहेछन् भने
म त्यसबाट कसरी अलग हुनसक्ने?
कतिपटक घाटमा पोलिनेमा परियो
कपिटक चिहानमा गाडिनेमा परियो
कतिपटक चिलको चुच्चोमा च्यापिनेमा परियो
आइमाई भएर कति बच्चा जन्माइयो
लोग्ने भएर कति ठालु पल्टियो
कुन कुन देशमा जन्मिइयो
कति थरी भाषा बोलियो
कुन कुन धर्म मानियो थाहा छैन आज मलाई
कतिले मृत माने होलान् आत्मालाई
ती शरीर ढलेपछि
कति आमाबाबुको नाउँमा तर्पण श्राद्ध गर्दै होलान्
कति चिहानमा फूल चढाउँदै होलान्
कतिले फोटोमा माला लगाइदिएका होलान्
कतिले अपार गाली गरिरहेका होलान् त
कतिले अपार तारिफ
मन नहुँदो हो त म यो व्यक्त गर्नसक्ने नै हुन्नथेँ
सलाम छ हिजोको जुनीलाई
पुराना शरीरहरुमा रहेको मन
आत्मासँगै आज पनि पानीमा चिनीझैँ घोलिएको पाउँछु
त्यही पुरानै मन अहिले पनि
कहिले जुरूक्क गर्छ कहिले बुर्लुक्क गर्छ
कहिले विहसित त कहिले अतिहसित गर्छ
अन्तिम इच्छा हुँदो रहेछ
यसपटक पोलिएपछि फेरि चिता देख्नु नपरे हुन्थ्यो
अन्तिम मृत्यु भए हुन्थ्यो ।