सुमित्रा रूम्दाली
(मिरिक, दार्जिलिङ)
मान्छेको मन–मस्तिष्कभरि
अहिले, त्यही र त्यसरी नै
हरपल, हरक्षण
जीवन लडिरहेछ, जीवन मरिरहेछ ।
खुल्ला र स्वतन्त्र हाँस्न सकिरहेको छैन
मान्छेको मन र ओठ
तर एकार्कामा बुलन्द नाराजस्तो
मृत्युका आभाष बोकेका
कृत्रिम मन र ओठहरु
अझ उर्जाशील बन्ने
उत्साहित बन्ने शुभकामना बाँड्दै
कालजयी बन्ने मन्त्रहरु साट्दै
जीवन बाटोमा, जीवन गोरेटोमा
हिँड्दै छन्, बाँच्दै छन् ।
तर म भने त्यही कतै
एउटा सग्लो मान्छे
सग्लो अनुहार
खोजिरहन्छु, पर्खिबस्छु
जसमा कतै कृत्रिमताको लेप नहोस्
मन र आँखा साँच्चै हाँसेको होस्
ओेठहरुले फरफराउन सकोस्
बोल्न सकोस् उसका
सुन्दर, सुललित भावहरु, शब्दहरु ।
तर खै, मैले खोजेको त्यो अनुहार
मैले पर्खिबसेको त्यो सग्लो मान्छे
कहीँ – कतै देखिन्न ।
सायद, ऊ पनि अरुले जस्तै
ओेठभरि, मनभरि
त्यही कृत्रिमता बोकेर कृत्रिमता पोतेर
कतै हराइसक्यो कि !
कतै बिलाइसक्यो कि !