रुपक अलङ्कार
छातीभित्र हजार छाल युगको उर्लाउँदै दौडने
सुर्ता जीवनका भुली हृदयको आनन्दमा पौडने
अर्काको उपकार निम्ति सजिलै हाँसेर मर्नेहरु
झुक्दैनन् कहिल्यै महासमरमा सङ्घर्ष गर्नेहरु ।
चल्लान् यी असहाय दीनजनमा हावा बनी सिर्सिरी
हेक्का राख परन्तु दुष्ट जन हो यी चैतका हुन्नरी
देखेको छु अथाह शक्ति यिनमा संसार कम्पाउँछन्
धर्तीमा इतिहास लेपन गरि गाथाहरु गाउँछन् ।
काया कायरको भए लुगलुगी यी उर्लिँदा जोसले
चेष्टाहीन भएर चक्कर लिए उत्कर्ष आक्रोशले
ईर्ष्या लालचका दुःखी हृदयका विद्वेशका मत्सर
ढल्छन् ढुन्मुनिएर एक छिनमै हुन्छन् सबै सोत्तर ।
पाउन् मानिसले सरोबर खुसी ऊछेउमा आउँदा
लागोस् शान्त भई समाज उसले सन्मार्ग सम्झाउँदा
मान्छेका मनमा उजाड वनमा पीयूषै वर्षा गरि
आफ्नो जीवन ज्योतिले झलझली पारोस् न धर्तीभरी ।
छाती दाङ उपत्यका सरि ठूलो उत्साह लाङ्टाङ होस्
कर्णाली जसरी कुदोस् गति सदा चट्टान झैँ आङ होस्
यस्तो होस् यमराज नै घरिघरी ऊबाट पो झस्कियोस्
यस्तो वीर मनुष्य होस् अनि धरा आनन्दले चम्कियोस् ।