- नवराज न्यौपाने ‘मौन’
अनन्त प्यार झल्किने कथा रहेछ जिन्दगी
अमूर्त भाव टल्किने कला रहेछ जिन्दगी ।
समस्त दुःख बिर्सदा मुहार खुल्छ हर्षले
सहस्र आँसु छल्किने ध्वजा रहेछ जिन्दगी ।
म बोक्न सक्छु देश यो उठाइ हात कर्मठ
भनेर बैँस ढल्किने सुधा रहेछ जिन्दगी ।
टुटेर जान्छ स्वप्न त्यो गरिब झुक्न हुन्न है
दुःखेर घाउ बल्किने निशा रहेछ जिन्दगी ।
सहेर चोट मर्मले सजाइ भाव कर्मले
अभावमाझ सल्किने चिता रहेछ जिन्दगी ।