कृष्ण बजगाईं
(लन्डन)
सनातनी भोकले जब ढक्ढकाउँछ
दुःखको भण्डार कोठामा
अभावको कठोर कठघरामा
जब काँप्छ गरिबी
ऋण तिर्ने सपना बोकेर
निस्कन्छन् कोलम्बस पाइलाहरु
हरियो पासपोर्ट बोकेर
आकाशको अनन्त मैदानमा उड्छन् सपनाहरु
र, टेक्छन् बिरानो धरतीमा
पौडिँदै जान्छन् दुःखको कालीदहमा
धरमराउँदै हिँड्छन् सपनाहरु
आशाका साँघुरा गल्लीहरुमा
गल्ली हुँदै सडकमा पुग्छन्
सडक हुँदै बाध्यताको ‘हाइवे’मा पुगेर ठोकिन्छन्
आदिम दुःख र रङ्गीन सपना बोकेर
हजारौँ वर्षदेखि कोलम्बसहरु
नाघिरहेका छन्
देश छुट्याउने काल्पनिक सीमारेखाहरु
अनेक हन्डर खाएर
घुमिरहेका छन् कोलम्बसहरु पृथ्वीभर
जसरी घुम्छ पृथ्वीले सूर्यलाई दिनरात
दुःखको दलदलमा टेक्दै
पसिनाको निलो नदी तरेर पुगिने
सुखको धरतीमा कहाँ रम्छ र मन
एकदिन त फर्किने छन् उनीहरु मातृभूमिमा
जसरी फर्केका थिए कोलम्बस आफ्नै मुलुकमा ।