डा. विश्वदीप अधिकारी
(शास्त्रीमार्ग, मैतिदेवी, काठमाडौँ)
बिरालोको दाँतमा च्यापिए पनि
बाँदरको छातीमा टाँसिए पनि
ती बच्चाहरुलाई आमाकै विश्वास छ
आफ्नै सुवास अन्त खोज्ने सुतुरमुर्गहरुले
चिनेका छैनन् आफैलाई
हुतिहारा भुक्ने कुकुरहरु
एउटा हाडको लागि पुच्छर हल्लाउँछन्
सनै सनै दिन आइरहेछ
छोप्ने देखाउनेर देखाउने छोप्ने
के काम टुच्चे फूल फुल्ने तुलसीको बोट
क्या मनमोहक फुल्छ अफिम
सबै छालहरु त एकनास हुँदैनन् भने
माछाहरु झन् के हुन्थे
हिँउ सकिएर तुहिनगिरीहरु
काला पत्थर भइरहेका बेला
असारमा खण्डवृष्टि हुँदा किन छक्क पर्नु
सुत्केरी हुन नपाई
भाले लिनुपर्ने खरायोको अगाडि
मान्छेको बहुलट्टीपन फिका नै हुँदोरहेछ
देशको अगाडि मान्छे बुज्रुग देखिए पनि
फ्याँकेको हाडले बलेको मैनझैँ पगाल्दोरहेछ
देश, सत्ता र शक्ति सबै जिउँदै हुँदा पनि
सुतेका छन् जाग्रतहरु
जाग्रत सुतुवाहरु
अलिकति पागल भइदिए
देश, देश हुन पाउने थियो
मान्छे नागरिक हुन सक्ने थिए
अधिकार कर्तव्यमा बदलिन पाउँथ्यो
सत्ता, छिमेकी र हस्तक्षेप
एकादेशको कथा हुन पुगी
समयको किल्लामा भेटिने थिएनन्
जाग्रत सुतुवाहरु ।