राधिका कल्पित
आउन त तिमी आएकै हौ
विश्वासको सेतो रङ ओढेर
मेरो छाती अनि मस्तकभरि फुल्न
बलिष्ठ हात र जाँघहरु छाडेर
रित्तो गिरि रोज्नुमा
सायद तिमीलाई मेरो फुलेको कपालमा विश्वास भयो
या हुन सक्छ मेरो उच्च शिरमा आस्था थियो
हुन सक्छ
हातहरुमा भन्दा माथमा विश्वास गर्यौ
र त मलाई बिछ्यौनाजस्तै सम्झेर लमतन्न बिछ्यायौ
आफ्ना सुकुमारी अवयवहरु
मेरा छाती अनि शिरभरि केशसरि फक्रियौ
म बुद्धझैँ मूक बनिरहेँ
म मेनका उत्ताउलिँदा विश्वामित्र बन्न सक्दिनथेँ
म मत्स्त्यगन्धा सर्माउँदा
परासर बन्न सक्दिनथेँ
किनकि म तिम्रो पहरेदार जो हुँ
तिम्रो भरोसाको रक्षा गर्नु थियो
तिम्रो विश्वासको पहरा दिनु थियो
र त लाठी र बन्दुक काँधमा बोकेर उभिइरहेँ
प्रवेशद्वारमा
बेसरम सूर्य मेरै शयनकक्षभित्र छिरी
तिमीलाई आमा बनाइरहँदा
चुपचाप पहरा दिइरहेँ
तिमीले कर्ण जन्माएर
कहिले कर्णाली र कहिले कोसीमा मिल्काउँदा
म सिर्फ पहरा दिइरहेँ
मलाई त लाग्थ्यो
तिमी ममा लीन भएर चीर निद्रामा निदाएकी छौ
मेरो टोपीमा हाँसिरहिछौ मेरै सिँदुर पहिरेर
र जाने छैनौ कहिल्यै मलाई चिरा चिरा पारेर
तर अफसोस !
मेरो मौनतालाई नपुंसकता सम्झेर
फेरि अप्सरा बनेर तिमी बग्यौ
कहिले कमला र सेती हुँदै
कहिले काली र मेची हुँदै
र बैँसको एक फन्को लगाएर
ऋतुको एक मेलो सक्काएर
एक बेत बाली पकाएर
फेरि कुन्ती र द्रौपदीजस्तै कुमारी बनेर
म उँघिरहेको मौका पारी
सुटुक्क छिछ्र्यौ
मेरो शयनकक्षभित्र ।
किन छल गछ्र्यौ बार बार ?
न जगाउन सक्छ्यौ मेरो पुरूषत्वलाई
आफू बाफ बनेर उडिरहँदा
आफै मात्र बग्छ्यौ
रविको एक निमेष स्पर्शमा
तातिएर
बाफिएर
पग्लिएर
मेरा छातीका ढिस्काहरु बगाउँदै
मेरा उचाइका स्वाभिमानहरु हिलाउँदै
अनि सङ्लिन्छ्यौ
र बन्छ्यौ घरि स्वर्गकी परी रारा
घरि बन्छ्यौ तिलिचो र गोसाईंकुण्ड
म बिचरो ! हेरिेहन्छु
किनकि म फगत तिम्रो पहरेदार ।
तिमी जेजस्ती भए पनि
म भने अन्नझैँ फुल्दा अन्नपूर्ण भएँ
नीलझैँ फुल्दा निलगिरी भएँ
धवलझैँ फुल्दा धवलागिरी भएँ
अँगाल्नु र छोड्नुको तिम्रो जाली माया
जान्दाजान्दै पनि
म त मौन रहेँ तिम्रै नामको अस्तित्व बोकेर
आफूले नजन्माएको सन्तानलाई
बाबुको नाम दिन तयार बाबुजस्तै
आफ्नै जमिन आवाद गर्न नसकेर
बन्धकी दिएको साहुजस्तै
निरीह हेरिरहेँ
किनकि म तिम्रो फगत पहरेदार ।
आफ्नै आँखा अगाडि तिमी
उम्लिएर
लम्किएर
तन्किएर
भोटेकोसी बन्यौ
दुधकोसी बन्यौ
उत्तरगङ्गा बन्यौ
मेरै आँगनमा अर्धनग्न उत्ताउली भई नाचेको सहिरहेँ
हेर्दाहेर्दै
सिँदुर र साँधको सिमाना हालेर
बाँधा बनाएर दक्षिणतिर लगेको निरीह बन्दै हेरिरहेँ
मेरै सम्पूर्ण अस्तित्व बोकेर
पराइ आँगन पुग्दा पनि तिमी
भृकुटी बनी बुद्धको मूर्ति बोक्न सकिनौ
गण्डक हुँदै गङ्गा पुग्दा पनि
मुक्तिनाथ र शालिग्राम रोक्न सकिनौ
न सीता बनेर जनकपुर फक्र्यौ अयोध्याबाट
र म
न तिम्रो बाबुजस्तो हुन सकेँ
न तिम्रो पति हुन सकेँ
न तिम्रो पुत्र बन्न सकेँ
आफ्नै अगाडि कंसले
आफ्नै सन्तानको बध गरिरहँदा
वसुदेव बनेर कृष्णलाई यमुना तार्न सकिनँ
कसैले खोस्न नसक्ने अनि वध गर्न नसक्ने
आठौँ सन्तान जन्माउन तिम्रो गर्भ भर्न सकिनँ
म त तिम्रो पहरेदार न हुँ
म तिम्रो कहिल्यै हुन सकिनँ ।