- भीष्म उप्रेती
पहाडमाथि
हरिया रूखहरुको फेदमा बसिरहँदा
चिसो हावाले छोएजसरी एउटा सोचले छोयो ।
यी रूखहरु किन रूख भए !
र मचाहिँ किन मानिस भएँ !
म रूख भएको भए
शीतल छहारी दिन्थेँ
बलियोसँग पक्रेर माटोलाई
पहिरो खस्नबाट जोगाउँथेँ
उमार्थें पानी धर्तीभित्र
र समस्त जीवनलाई प्राण दिन्थेँ
उठ्न, अग्लो हुन र उभिन प्रेरणा दिन्थेँ ।
पर मानिसहरु रूख काटिरहेका छन्
पहाड खोस्रिरहेका छन्
चट्टान फुटाइरहेका छन् ।
प्रकृति हामी कसैको होइन
र, त्यसैले हामी सबैको हो
प्रकृतिलाई जस्तो छ त्यस्तै रहन दिए कस्तो हुन्थ्यो !