सुदीप पोखरेल
म विश्वविजयाकाङ्क्षी छु
त्यसैले मेरा लागि
जमिनको महङ्खव घटेको हो
हावामै उडेर छोडिसकेँ मैले धर्ती टेक्न
हुन त आमाको गर्भबाट निस्कँदा
पछारिएको थिएँ यही धर्तीमा
त्यसपछि मैले छोडेको छु धर्ती टेक्न
मलाई के लोभ यस धर्तीको ?
मैले छोडिसकेँ धर्तीको लोभ
मलाई लाग्न छोडिसक्यो धर्तीको मोह
धर्तीको मोहबाट
म निस्पृह भइसकेको धेरै भयो
जुन धर्तीले मलाई उभिन सिकायो
जुन धर्तीले मलाई आश्रय दियो
जुन धर्तीले मलाई जीवन दियो
जुन धर्तीले मलाई पोषण गर्यो
आजम त्यही धर्तीसँगको द्रोहमा छु ।
थाहा छैन म कहिलेसम्म मदमत्त हुन्छु
मलाई कता कता थाहा छ
जुन दिनमेरा अहङ्कारका प्वाँखहरु
जुन दिन मेरा हठी तृष्णाहरु
जुन दिन मेरा स्वार्थलोलुपताहरु
जुन दिन मेरा निसर्गद्वेषी श्लाघाहरु
यही धर्तीले धर्तीमै मिलाउने छ
त्यस दिन
‘धर्ती म तिम्रै हुँ’ भन्न पनि पाउने छैनँ
केवल निःसहाय भएर
तिम्रै काखमा धूलिसात् हुने छु
किनकि आज म विश्वविजयाकाङ्क्षी छु ।
आज म अनन्त समुद्रका अघि उभिँदा पनि
उतुङ्ग शिखरका सम्मुख रहँदा पनि
विशाल मरूस्थलका काखमा पनि
दिगन्त वन्यप्रान्तका छातीमा पनि
निसर्गका अप्रतिम छविचित्रमा पनि
महानदीको तीव्र प्रवाहका अघि पनि
म जस्तै सहचर जीवका कलरवमा पनि
मैले जानेको छैनँ
झुक्न र समर्पणको भाव देखाउन
ममा आएन चेत कहिल्यै
यो धर्ती सबैको साझा हो भनी
किनकि म विश्वविजयाकाङ्क्षी छु ।
मलाई यो पनि थाहा छैन
विश्वविजय केमा गरिरहेछु
धर्तीबाट टाढा हुनुमा हो वा
धर्तीसँगै द्रोह गर्नुमा हो
तर मलाई बोध हुँदै गएको छ
कुनै दिन
तिनै उतुङ्ग शिखरका अघि झुक्नु छ
कुनै दिन सागरको अनन्ततामै बिलाउनु छ
मैले कुल्चिँदै र उखेल्दै उपेक्षा गरेको
मरूस्थल र वनमै मटियामेट हुनु छ
जुन दिन मेरा अहङ्कार र दम्भका प्वाँखहरु
मेरा धर्तीद्वेषी आतङ्की सोचहरु
यही धर्तीले चूर्णविचूर्ण पारिदिने छ
तब म वास्तवमा विश्वविजयी हुने छु
किनकि मलाई धर्तीले गुनगुनाएर भनिरहेछ,
‘समुद्रलाई मुठीमा बाँधेर होइन
हात फैलाउँदा मात्रै
त्यसको अनन्तता महसुस हुने छ ।’


