- रोशन शेरचन
लोभको भट्टामा पृथ्वी दन्किँदै छ
मृत्युशैय्यामा अन्तिम सास लिँदै छ
राष्ट्रप्रमुख, सरकारप्रमुख भने
बारबेक्यु र ककटेल्स् पार्टीमा मस्त छ
पृथ्वी दनदनी जलिरहेछ
कालो मुस्लो धुवाँ निकाल्दै, त्यस्तरी नै जसरी
चितामा जल्छ– शव
मान्छेले सोच्नै सकेन–
परिवारभन्दा पर
समाजभन्दा पर
र राष्ट्रभन्दा पर
मान्छेले सोच्नै चाहेन–
आफूभन्दा बाहेक
प्राणी, खोलानाला, तालतलैया, खर्क र वनजङ्गल
इकोसिस्टम वा समष्टि
मान्छेले सोच्नै सकेन–
पृथ्वी साझा हो
साझाले इतरमान्छे पनि समेट्छ भनेर
हाम्रो विडम्बना
भूपरिवेष्ठित देशकाले
समुद्री प्राणीको विनाशलाई समस्या मानेनन्
समुद्री देशकाले
तीव्र रुपमा हिमचुली पग्लिएको घटनालाई चुनौती ठानेनन्
बरू… अगस्तिजस्तो खानमै व्यस्त छन् मान्छे
बाँकी केही राखेका छैनन्
कुकुर, सर्प, फट्याङ्ग्रा, साङ्ला, स्टार फिस, बगेरी, च्वाँचे
टुना, चिकेन, मटन, बिफ, ह्वेल, खरायो, अक्टुपस, गँगटो
भोग भोग, उपभोग, महाभोग…
वन फाँड्दा मान्छे
वन मात्र फाँड्दैनन्, चराका चिरबिरहरु पनि फाँड्छन्
नदी प्रदूषित पार्दा
नदी मात्र प्रदूषित पार्दैनन्, माछा, भ्यागुता, घडियाल पानीहाँस पनि नष्ट गर्छन्
खाली ठाउँ देख्यो कि
बजार ठड्याउछन् र
उछिनपाछिन गर्छन्– ग्राहक हुन
बजार मात्र ठड्याउँदैनन्, बालबच्चा खेल्ने चौर पनि खोस्छन्
छ, आठ लेनका सडक सञ्जालहरु बनाउँछन्
नयाँ नयाँ मोडेलका दुई पाङ्ग्रे, चार पाङ्ग्रे गुडाउँछन्
मानौँ विश्वकै सबभन्दा महान् काम त्यही हो
भोग, भोग, उपभोग, महाभोग…
विवेक अझै पलाएकै छैन मानव जातिको
आफैलाई केन्द्र ठान्छन्
बजारलाई आदर्श
र महाभोगलाई समृद्धि
मान्छेले अझ चेतेको छैन
सँघारमै देख्दा–
भयङ्कर गर्मी
भयानक पैरो
र भीषण खडेरी
बारबेक्यु र बियरमै मस्त छन्– मान्छे
नाना भाँती हाउभाउमा सेल्फी खिच्न
र
सामाजिक सञ्जालमा दुनियालाई देखाउनै व्यस्त छन्– मान्छे
महाभोगमा लिप्त मानव जातिलाई
पत्तै छैन
उनीहरुको भोज बन्दै गएको– अन्तिम भोज ।